बागमती गाउँपालिकास्थित बागमती आधारभूत विद्यालयमा परीक्षा दिँदै विद्यार्थी।

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा रहेको सामुदायिक विद्यालयहरूमा अर्धवार्षिक परीक्षा सुरु भएको छ । आइतबारबाट सुरु भएको परीक्षा मंसिर २८ गतेसम्म सञ्चालन हुने गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद राईले जानकारी दिनुभयो ।

राईका अनुसार पालिकाले विद्यालयलाई उत्तरपुस्तिका र प्रश्नपत्र उपलब्ध गराउनेछ भने परीक्षाको जिम्मेवारी विद्यालयको प्रधानाध्यापकले लिने गरी सञ्चालन गरिएको छ । अर्धवार्षिक परीक्षामा ४ देखि १० सम्मका ३ हजार ७०४ जना विद्यार्थी सहभागी भएका छन् । एकदेखि ३ सम्मको विद्यार्थीहरूलाई विद्यालय आफैँले अध्ययनका आधारमा मूल्याङ्कन गर्ने गरेको छ ।

पालिकाभित्र ५० वटा सामुदायिक विद्यालयमा ७ हजार ७० जना विद्यार्थी अध्ययनरत छन् । पालिकाले त्रैमासिक र अर्धवार्षिक परीक्षाको विद्यालयस्तरीय र विद्यालयले नै आन्तरिक मूल्याङ्कन गर्ने भएका कारण नतिजाबारे जानकारी नलिएको उहाँले बताउनुभयो । पालिकाले परीक्षा समिति गठन गरेको र पालिकामा कर्मचारी कम भएका कारण विवरण समेट्न नसकेको राईको भनाइ छ ।