हेटौँडाको मेनरोडस्थित एक घर डोजरले भत्काउँदै । फाइल तस्वीर ।

हेटौँडा : हेटौँंडा बजार क्षेत्रको सडक विस्तारको काम आज आइतबार रोकिएको छ । शनिबार बिहानैबाट सुरु भएको हेटौँंडा बजार क्षेत्रको सडक विस्तार कार्य साँझसम्मै जारी थियो ।

राजमार्ग क्षेत्रको २५/२५ गज सडकसिमा कायम गर्नेगरी सडक डिभिजन कार्यालय हेटौँडाले हेटौंडाको मुख्य बजार क्षेत्रको बजारका घर तथा संरचनाहरु भत्काउने काम गरेको थियो । शनिबार मात्र हेटौँडा–१५ रातोमाटेदेखि मुख्य बजार क्षेत्रको मेनरोड, बुद्धचोक, राप्तीरोड, कृष्णमन्दिर तथा चैकीटोल ओरालोसम्मका संरचनाहरु भत्काइएको थियो ।

महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ क्षेत्रको हाल २५/२५ गज (२२.५ मिटर) क्षेत्रका नीजि तथा सार्वजनिक घर संरचनामा डोजर प्रोग गरेर भत्काइएको थियो । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार आइतबार संरचना भत्काउने काम अघि बढ्दैन । सडक डिभिजन कार्यालय हेटौँडाको योजना अनुसार सुरक्षा संयन्त्र परिचालन गरेर निर्धारित क्षेत्रको अधिकांश संरचनाहरु भत्काइएको उहाँले बताउनुभयो ।

महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत हेटौँडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्तीपुल र बुद्धचोकबाट सामरी पुलसम्मको ९.५ किलोमिटर सडकसिमा खाली गर्नेगरी कार्यालयले मंसिर ५ मा सूचना जारी गरेको थियो । सोही अनुसार १५ दिनको म्याद सकिएको दिन उक्त कार्य अघि बढाएर संरचना हटाइएको उहाँले बताउनुभयो ।

सो क्षेत्रको करिव २ किलोमिटर क्षेत्रको संरचना हटाउन बाँकी रहेकोले क्रमशः काम गरिने उहाँले बताउनुभयो । त्रिभुवन राजपथको चौकीटोल क्षेत्रका केही स्थानमा सडकसिमामा निर्माण भएका घर तथा टहरा हटाउन बाँकी रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार आइताबर कुनैपनि स्थानको घर तथा टहरा हटाउने काम गरिने छैन । शनिबार भत्काइएको संरचनाहरुको व्यवस्थापनको काममा सडक कार्यालय, हेटौँडा उपमहानगरपालिका लगायतका निकायहरुसंग समन्वय गरेर काम गरिने उहाँले जानकारी दिनुभयो ।

‘हामीले शनिबार योजना अनुसारका क्षेत्रको संरचना हटाउने गरी घर–टहरा भत्काएका छौं । आज हाम्रो कुनै पनि योजना छैन ।’ उहाँले भन्नुभयो, ‘योजना अनुसार शनिबार नै रातोमाटेदेखि बुद्धचोक र राप्तीरोड तथा कृष्णमन्दिर, चौकीटोल ओरालो क्षेत्रको संरचना भत्काइएको छ । चौकीटोल क्षेत्रको केही घर तथा संरचना हटाउन बाँकी रहेकाले क्रमशः अघि बढ्ने तयारी रहेको छ । आज उपमहानगरपालिका र सडक कार्यालयको समन्वयमा भत्किएका संरचनाहरुको व्यवस्थापनको काम हुनेछ ।’