Home मुख्य समाचार छुट्टाछुट्टै घटनामा एकैदिन ३ जनाको मृत्यु

छुट्टाछुट्टै घटनामा एकैदिन ३ जनाको मृत्यु

हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा छुट्टाछुट्टै घटनामा एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको काभ्रे, चितवन र सिन्धुली जिल्लामा शनिबार ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

काभ्रेको खानिखोला गाउँपालिका–३, बांगेमा घरभित्रै जलेर एक जना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८४ वर्षीया माइलीमाया थिङ रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार बिहान ९ बजेको समयमा अगेनाबालेको आगो सल्किएर घरमा आगोलागी हुँदा घरभित्रै जलेर माइलीमायाको मृत्यु भएको बताइएको छ । प्रहरी र स्थानीयको सहयोगमा बिहान ११ बजे आगो पूर्णरुपमा नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४, धनमान खोलामा पाखाको डिलबाट लडेर एक जना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया कान्छीमाया घिसिङ रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार बिहान ९ बजेको समयमा घिसिङ पाखाको डिलमा घाँस काटिरहेको अवस्थामा एक्कासी डिलबाट लडेर गम्भिर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा लगिएको थियो । उपचारको क्रममा साँझ ६ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

छिमेकी देश भारतमा मोटरसाइकल दुर्घटनामा घाइते भएको पुरुषको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ का २८ वर्षीय रामजी चेपाङ बुधबार भारतमा मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते रामजीलाई शनिबार पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका लागि लगिएको थियो । उपचारको क्रममा दिउँसो २ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version