हेटौँडा : मकवानपुरगढी गाउँपालिकास्थित चण्डिका माध्यमिक विद्यालयका शिक्षक कमल फुयाँलले सामुदायिक विद्यालयको प्रधानाध्यापकको पद तातोआलु जस्तो भएको बताउनुभएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान बागमती प्रदेश समितिले शनिबार बिहान हेटौँडामा ‘बदलिँदो अवस्थामा शिक्षा अधिकारको सवाल : प्रदेश र स्थानीय सरकारको भूमिका’ विषयक अन्तरक्रियामा सहभागी फुयाँलले मकवानपुरगढी गाउँपालिकामा निशूल्क तथा अनिवार्य शिक्षा लागू गरिएको जनाएसँगै विद्यालय बस सञ्चालन र नियमित विद्यालय सञ्चालनमा समस्या भएको बताउनुभयो ।
विद्यालय सञ्चालनको स्रोत नहुनु, पालिकाले पनि जिम्मेवारी वहन गर्ने अवस्था नहुँदा प्रधानाध्यापकको पद जसलाई दिए पनि उसले अस्वीकार गर्नुपर्ने स्थिति छ । फुयाँललाई पनि चण्डिका माविको प्रधानाध्यापकको जिम्मेवारी लिन आग्रह भइरहँदा स्रोत, साधन बिना जिम्मेवारी लिन नसकिने बताउँदै आउको जानकारी गराउनुभयो । प्रदेश सरकारले दिएको बस नियमित सञ्चालन गर्ने स्रोत विद्यालयसँग नहुने, पालिकाले सञ्चालन तथा व्यवस्थापन गर्नुपर्ने भनेर कार्यविधिमा भनिए पनि पालिकाले त्यस किसिमको जिम्मेवारी लिने अवस्था नहुँदा विद्यालयलाई समस्या भइरहेको उहाँले बताउनुभयो ।
अन्तरक्रियामा शिक्षाका लागि राष्ट्रिय अभियानका कार्यकारी निर्देशक राम गैरे र बागमती प्रदेश सरकार मातहतको शिक्षा विकास निर्देशनालयका महानिर्देशक गोपाल कँडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । गैरे र कँडेलको प्रस्तुतीपछि सहभागीले प्रदेश र स्थानीय सरकारको भूमिकाका बारेमा धारणा राखेका थिए । हेटौँडा–१५ स्थित वनदेवी आधारभूत विद्यालयका सहायक प्रधानाध्यापक कुमार रुम्बाले विद्यालयमा पालिकाको हस्तक्षेपकारी भूमिका जरुरी रहेको औँल्याउनुभयो । पालिकामा अनुगमन संयन्त्र भए पनि त्यसले काम गर्न नसकेको, विद्यालयसँग पानी र विजुलीको महसुल तिर्ने स्रोत पनि नभएको उल्लेख गर्नुहुँदै रुम्बाले विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा वास्तविक अभिभावकको सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभयो ।
अन्तरक्रियामा सहभागिता जनाउनुहुँदै राक्सिराङ गाउँपालिकाको शिक्षा शाखाका प्रमुख पंकश थारुले पालिकामा ६ वटा मावि भए पनि एकजना मात्रै स्थायी दरबन्दीको शिक्षक रहेको बताउनुभयो । शिक्षकको अभावमा शैक्षिक गुणस्तर अभिवृद्धि हुन नसकेको थारुको भनाइ छ । केही विद्यालय मर्ज गरिएको र विद्यालय मर्ज भएपछि शिक्षकको व्यवस्थापनका लागि नयाँ विद्यालयमा सरुवा गर्दा उल्टै आफ्नो जागिर खाइदिने धम्की आएको थारुले बताउनुभयो । शिक्षाका लागि राष्ट्रिय अभियान बागमती प्रदेश समितिका अध्यक्ष प्रकाश खतिवडाको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा अन्तरक्रिया भएको हो । पूर्वमन्त्री मोक्तानले आफ्नो कार्यकालमा विद्यालय तहको शिक्षा सुधारका लागि अभिभावक सचेतनाको कार्यक्रम गरेको उल्लेख गर्नुभयो ।
अन्तरक्रियामा मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले राजनीतिक नेतृत्वले फट्याइँ नगरे जित्नै नसक्ने बताउनुभयो । चुनावमा भोट पाउन आफू फटाहा नै हुनुपरेको पनि उहाँको भनाइ थियो । अन्तरक्रियामा पत्रकार सुरेश श्रेष्ठले विश्वविद्यालय तहको शिक्षामा ध्यान दिनुपर्ने प्रदेश सरकार विद्यालय शिक्षामा बढी व्यस्त भइरहेको र विद्यालय तहको शिक्षाको जिम्मेवारी पाएको स्थानीय सरकार विश्वविद्यालय तहको शिक्षा सञ्चालनमा जोड गरिरहेको बताउनुभयो । विद्यालय तहको शिक्षा सुधार्न जिम्मेवार, क्षमतावान व्यक्तिलाई प्रधानाध्यापकको जिम्मेवारी दिनुपर्नेमा पत्रकार श्रेष्ठले जोड दिनुभयो ।
