Home मुख्य समाचार ‘जनता रुवाएर गरिने काम विकास होइन, विनाश हो’ : पूर्वसांसद श्रेष्ठ

‘जनता रुवाएर गरिने काम विकास होइन, विनाश हो’ : पूर्वसांसद श्रेष्ठ

हेटौँडा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा पूर्वसांसद विराजभक्त श्रेष्ठले हेटौंडा बजार क्षेत्रमा सडक विस्तारको नाममा जनताको घर भत्काउनु विनास भएको टिप्पणी गर्नुभएको छ । शनिबार हेटौँडामा सडक विस्तारका क्रममा स्थानीयका घरटहरा भत्काइएपछि आइताबर सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै नेता श्रेष्ठले जनतालाई रुवाएर गरिने काम विकास नभई ‘विकासको नाममा विनाश’ भएको टिप्पणी गर्नुभएको हो ।

श्रेष्ठले आफू बागमती प्रदेशसभा सदस्य हुँदादेखि नै हेटौँडाको सडक विस्तारको विषयलाई प्रदेशसभा र विभिन्न फोरमहरुमा उठाउँदै आएको बताउनुभएको छ । उहाँले विकासको विरोधी आफूहरु नभएको तर विकासका नाममा नागरिकलाई विस्थापित गर्न नहुने बताउनुभयो । सडकको मापदण्ड कायम हुनुपर्ने भए पनि त्यसको विधि, प्रक्रिया र स्थानीय पीडित नागरिकको उचित व्यवस्थापन गर्नु राज्यको दायित्व भएको उहाँको भनाई छ । संविधानले नागरिकलाई हक अधिकार सम्पन्न बनाएपनि त्यसबाट बञ्चित गराउने कामको जवाफदेहिता कसले लिने भन्दै उहाँले प्रश्न गर्नुभएको छ । सडक विस्तार रोक्न शुक्रबार मात्रै सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको भए पनि त्यसको बेवास्ता गर्दै घर भत्काइएकोमा श्रेष्ठले भनाई छ ।

‘हाम्रो कुरा स्पष्ट थियो, यो विस्तारले असर गर्ने सरोकारवालाहरु र पीडितहरुसँग उचित संवाद जरुरी छ । हामीले सम्बन्धित निकायलाई सुझाव स्वरुप भनेका पनि थियौं । संवाद गरेर मात्रै अगाडि बढ्नुस् । तर, त्यसो भएको महशुस भएन ।’ उहाँले लेख्नुभएको छ, ‘शुक्रबार मात्र पनि सर्वोच्च अदालतले सडक विस्तार रोक्नू भनेर आदेश दिएको छ । तर आदेश छेउमा पर्‍यो । एकाबिहानै हेटौँडाको मुख्य सडकमा घर भत्काइएका दृश्यले कानून कमजोर भयो कि जनतालाई हेप्ने बानी बलियो भयो भन्ने प्रश्न फेरि उठ्यो । हिजो काठमाडौंमा सडक विस्तारको नाममा घर भत्काइए । आज हेटौँडामा पनि रगत पसिनाले जोडिएका इतिहास बोकेका घरहरु ढले । व्यवस्था बदलिए, सरकार फेरिए तर फरक केही छैन । दुःख पनि त्यही, पीडा पनि त्यही अनि व्यथा पनि त्यही । अन्तिममा जहिले पनि चोट भोग्नुपर्ने नेपाली जनताले नै हो ।’

Exit mobile version