हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले बजार क्षेत्र भित्रको राजमार्ग विस्तारबाट प्रभावित भएका घरधनी तथा व्यवसायीहरुका लागि विशेष राहत र सहजीकरण प्याकेज ल्याउने निर्णय गरेको छ । आइतबार बसेको नगर कार्यपालिकाको ७६ औं बैठकले सडक विस्तारपछि उत्पन्न परिस्थितिलाई व्यवस्थापन गर्न ९ बुँदे निर्णय गरेको हो । कार्यपालिका बैठकले सडक विस्तार गर्न सहयोग गर्ने घरधनी, व्यवसायी, उपमहानगरवासी र सरोकारवालालाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।
हेटौँडाको कार्यपालिका बैठकले सडक विस्तारका क्रममा घर भत्किएका घरधनीहरुलाई पुनः घर निर्माण गर्न निश्चित समयका लागि सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउन अर्थ मन्त्रालय मार्फत नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले सडक विस्तारका कारण व्यवसाय बन्द भई विस्थापित हुनुपरेका व्यवसायीहरुको लगत संकलन गरी उनीहरुले पुनः व्यवसाय सुरु नहुँदासम्मको अवधिका लागि व्यवसाय कर छुट दिन नगर सभा समक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।
प्रभावितहरूले नयाँ घर निर्माण गर्दा २००० वर्गफिट सम्मको नक्सा पास दस्तुर छुट दिन नगर सभामा प्रस्ताव पेश गर्ने, सडक विस्तारका कारण आफ्नो जग्गाको अंश नरहने र अन्यत्र घरजग्गा नभएका पीडितहरुको वडा कार्यालयमार्फत विवरण संकलन गरी, उनीहरुलाई आयोजनामार्फत आवास व्यवस्थापन गर्न सहजीकरण गर्ने निर्णय गरेको छ । प्रभावितहरुलाई भवन निर्माणमा सहजता प्रदान गर्न प्राविधिक सहयोगसहित ‘फास्ट ट्रयाक’ विधिबाट नक्सा पास लगायतका सेवाहरु प्रवाह गर्ने, घर निर्माण सामग्री सुलभ रुपमा उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले हेटौंडा उपमहानगरपालिका हुँदै जाने त्रिभुवन राजपथलाई ‘पर्यटकीय राजमार्ग’ का रुपमा सञ्चालन गर्न संघीय सरकारलाई अनुरोध गर्ने, सडक विस्तार भएको क्षेत्रमा हेटौँडाको पहिचान झल्कने गरी एकरुपता र सौन्दर्य कायम गर्न उपयुक्त घर निर्माण मोडेल तयार गरी कार्यान्वयनमा ल्याउने, मकवानपुर उद्योग वाणिज्य संघ लगायतका सरोकारवालाहरुसँग छलफल गरी बजारको सेवा निरन्तर गर्न र व्यवसायीको व्यवस्थापनमा सहजीकरण गरिने निर्णय गरेको छ ।
