हेटौंडाः मकवानपुर कुखुरा व्यवसायी संघले मनहरी गाउँपालिकाका कोरोना सङ्क्रमित र क्वारेन्टिनमा बसेकाका लागि पनि सहयोग गरेको छ । कुखुरा व्यवसायी संघले एक महिनाका लागि प्रतिव्यक्ति दैनिक २ वटा अण्डा र हप्ताको २ दिन कुखुराको मासु खाने व्यवस्था गरेको संघकी वरिष्ठ उपाध्यक्ष प्रतिमा श्रेष्ठले जानकारी दिनुभएको छ । यसअघि मकवानपुर कुखुरा व्यवसायी संघले हेटौंडा–६, गौरिटारस्थित आइसोलेसन र हेटौंडा–४ कर्रास्थित आइसोलेसन कक्षमा पनि अण्डा र मासुको व्यवस्था गरेको थियो ।
स्वास्थ्यका लागि सेतो मासु उपयुक्त हुने चिकित्सकको समेत सुझाव रहेको र अण्डामा हुने पौष्टिक तत्वले रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति बढाउने भएकाले अण्डा र मासुको व्यवस्था गरिएको संघका अध्यक्ष राजु अधिकारीले बताउनुभएको छ । मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारीले आज बिहान मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीलाई अण्डा र मासु हस्तान्तरण गर्नुभएको छ ।