तस्वीरः गुगल ।

नेपालमा कोरोना सङ्क्रमण बढेयता सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, मनोवैज्ञानिक लगायतका सबै क्षेत्रहरुमा फरक किसिमका तरङ्गहरू छाएका छन् । मानिसले आफ्नो दैनिक तथा नियमित कामकारवाहीहरु सञ्चालन गर्ने क्रममा समेत कोरोनालाई केन्द्रबाट राखेर सोच्नमा अभ्यस्त भइरहेका छन् । कोरोनालाई कमजोर प्रकृतिको भाइरस भनिएको भए पनि छिटो सर्न सक्ने दर तथा यसलाई प्रभावकारी रुपमा निदान गर्न सक्ने औषधी वा उपचार विधि तयार नभैसकेका कारण यसको त्रास सर्वत्र फैलिरहेको छ वर्तमान विश्वको आर्थिक सामाजिक संरचनासँग जोडिने सबै बाटोहरुमा यसबाट विभिन्न खालको असर परिरहेको छ । अन्य क्षेत्रको तुलनामा यस सङ्क्रमणका कारण मानिसको मनोविज्ञानमा परेको असरलाई सजिलै अन्दाज गर्न भने सकिन्न । मानिसको मनोविज्ञानमा पर्ने असर अनुमान गरिएभन्दा फरक, गम्भीर र दीर्घकालसम्म रहन सक्ने पनि हुनसक्छ ।

चिरञ्जीवी लामिछाने

कोरोना सङ्क्रमण सुरु भएयता यसको असरका रुपमा नेपाली समाजमा विभिन्न अनपेक्षित घटनाक्रम तथा मानिसका सोचविचार र आनीबानीमा समेत भएका परिवर्तनहरुलाई विश्लेषण गर्दा कोरोना सङ्क्रमणले कतै मानिसलाई तत्काल, अल्पकाल र दीर्घकालसम्म मनोवैज्ञानिक प्रभाव जमाइरहने त होइन भन्ने आशंका गर्ने प्रशस्त ठाउँहरु भेटिन्छन् । कारोना र यसको मनोवैज्ञानिक सम्बन्धका बारेमा अझ नजिकबाट बुझ्नका लागि हाल देखिने गरेका केही परिदृश्यहरूलाई अलि नजिकबाट नियाल्ने कोशिस गरौं ।

परिदृश्य १
लमजुङको क्व्होलासोंथर गाउँपालिका–९ स्थित गिलुङ क्वारेन्टिनमा बसेका एक युवकले आत्महत्या गरेका छन् । क्व्होलासोंथर गाउँपालिका–६ पसगाउँका २३ वर्षीय युवराज घर्तीले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । (नयाँपत्रिका २०७७ श्रावण २)

परिदृश्य २
रुपन्देहीमा एक युवकले आत्मदाह गरेका छन् । रुपन्देहीको देवदहस्थित क्वारेन्टिनका सुरक्षा गार्डले आत्मदाह गरेका छन् । देवदह–५ मितेरी टोलका २४ वर्षका विपिन बस्यालले मङ्गलबार बिहान करिब ३ बजेतिर शरीरमा मट्टीतेल खन्याएर आत्मदाह गरेका हुन् । (समतलअनलाइन डटकम, २० साउन २०७७)

परिदृश्य ३
वैदेशिक रोजगारीमा रहेका अधिकांश नेपाली कामदार पारिश्रमिक नपाएर बिचल्लीमा परेका छन् । कोरोनाका कारण रोजगारी गुमेका धेरैलाई साँझ–बिहान हातमुख जोड्न पनि धौधौ परिरहेको छ । (अन्नपूर्णपोस्ट डटकम, २४ साउन २०७७)

परिदृश्य ४
कोरोना भाइरस (कोभिड–१९) ले रोजगारी क्षेत्रमा ठूलो चुनौती थपिएको छ । स्वदेशमा पर्याप्त रोजगारी नभइरहेको बेला कोरोनाका कारण बेरोजगारको अवस्था विकराल हुने देखिएको हो । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का अनुसार नेपालमा कार्यरत मध्ये १६ लाखदेखि २० लाखले रोजगारी गुमाएका छन् । केन्द्रीय तथ्याङ्क विभागका अनुसार देशभर नौ लाख १८ हजार प्रतिष्ठान छन् । ती प्रतिष्ठानमा ४४ लाखभन्दा बढी श्रमिक कार्यरत छन् । (अन्नपूर्णपोस्ट डटकम, ७ असार २०७७)

यी चारवटा घटनाक्रम र तिनीहरुमा देखिएका पात्रहरू प्रतिनिधिमूलक मात्र हुन् । खोजी गर्दै जाने हो भने वा समयकालसँगै यी र यस्ता घटनाक्रमहरु अब घट्नुका सट्टा बढ्ने सम्भावना नै बढी देखिन्छ । हुन त यसअघि सामाजिक, आर्थिक समस्या नै थिएनन् भन्ने चाहिँ होइन तर यी र यस्ता घटनामा कोरोना सङ्क्रमणको प्रत्यक्ष प्रभाव देखिएकाले यहाँ उल्लेख गर्नु सान्दर्भिक ठानिएको हो ।

यसबाहेक अनौपचारिक क्षेत्रमा काम गरेर आफ्नो दैनिकी चलाउने व्यक्तिहरू, दैनिक ज्याला तथा मजदुरी गरेर बाँच्नेहरू, वैदेशिक रोजगारबाट प्राप्त आम्दानीमा आश्रित व्यक्तिहरु, सानोतिनो व्यवसायबाट आफ्नो परिवर्तन चलाउनेहरु आदिमा कोरोनाका कारण उत्पन्न सङ्कटले गर्दा पर्नसक्ने मनोवैज्ञानिक सोचेभन्दा गहिरो पनि हुन सक्दछ । त्यसैगरी कोरोना सङ्क्रमणबाट सिर्जित सङ्कटका कारण ठूलो मनोवैज्ञानिक त्रासको सामना गर्नेमा विद्यालयदेखि विश्वविद्यालयसम्म अध्ययन गर्ने विद्यार्थीहरु पर्दछन् । एक त उनीहरु आर्थिक सामाजिक समस्यामा फस्ने खतरा भने अर्कातर्फ आफ्नो भविष्य अन्योलमा रहेको कुराले चिन्ता थपिरहेको छ । यसरी समाजका सबै खाले मानिसहरुमा यसको मनोवैज्ञानिक असर पर्ने देखिन्छ ।

कोरोना सङ्क्रमणको असरले गर्दा धेरै मानिसहरुले आफ्नो जीवनयापनलाई सामान्य रूपमा अघि बढाउन सक्ने अवस्था छैन । धेरै मानिसहरूको रोजगारी गुम्ने खतरा छ, आर्थिक कारणले नै परिवारको खर्च व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता पनि धेरैलाई छ, धेरै दीर्घरोगी तथा अशक्तहरुलाई कोरोनाको सङ्क्रमण बढ्दै गएमा आफ्नो अवस्था के होला भन्ने डर व्याप्त छ, आफ्नो वरपर सङ्क्रमण फैलिएको अवस्थामा मानिसहरूलाई त्यसले कस्तो प्रभाव पार्ला भन्ने भय बढ्दै गएको छ, कोरोना सङ्क्रमण भएका र सङ्क्रमण पश्चात निको भएका व्यक्तिहरुलाई परिवार र समाजले के–कस्तो व्यवहार गर्ला भन्ने चिन्ता छ, यस्तो असामान्य अवस्थामा पनि कर्तव्य निर्वाह गर्ने क्रममा या पेशागत रुपमा खटिरहनुपर्नेहरुमा पनि एक किसिमको त्रासको अवस्था देखिन्छ । यसबाहेक वैदेशिक रोजगारीमा गएका र सङ्क्रमणको जोखिम हुँदाहुँदै पनि घर फर्कन नपाएकाहरुको पीडा, सिकाइको चरण पार गर्दै स्तरोन्नतिको पर्खाइमा रहेका विद्यार्थीहरूमा देखिएको आफ्नो भविष्यप्रतिको चिन्ता, कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिने खालका विभिन्न स्वास्थ्य समस्या भएका व्यक्तिहरूको मनोदशा आदिलाई हेर्ने हो भने पनि कोरोनाले मनोवैज्ञानिक रुपमा नछुने वा प्रभाव नपर्ने क्षेत्र कुन भनेर खोजी गर्न धेरै मुस्किल छ ।

यति छिटो गतिमा संसारभरि फैलिएको सायद यो नै अहिलेसम्मकै ठूलो महामारी हुनुपर्छ । वर्तमान विश्वले यसको ठूलो त्रासदी व्यहोरे पनि मानवीय क्षतिका हिसाबले भने यसभन्दा अघि धेरैपटक यो भन्दा घातक विश्वव्यापी महामारीलाई विश्वले झेलिसकेको छ । यो सङ्क्रमणको जैविक पक्षका बारेमा सबै तथ्यहरु स्पष्ट रुपले बाहिर आउन नसक्नु, यसको भरपर्दो निदान हालसम्म नदेखिनु तथा सङ्क्रमणको फैलावट दर पनि अति उच्च हुनुले मानिसमा नचाहेर पनि मनोवैज्ञानिक त्रास फैलिरहेको छ । यति हुँदाहुँदै पनि संसारभरी नै यस रोगको विरुद्ध भ्याक्सिन तथा नयाँ उपचार विधिहरुको बारेमा खोज अनुसन्धान भएर रसिया, चीन जस्ता कतिपय देशमा बिरामीहरुमाथि तिनीहरूको प्रयोग समेत हुने चरणमा पुगेकाले मानिसहरुमा नजाने त किसिमले गढेर रहेको मनोवैज्ञानिक त्रास बिस्तारैबिस्तारै हट्दै जाने आश गर्न पनि सकिन्छ ।

तत्काल समाधान उन्मुख नदेखिने जुनसुकै समस्या पनि मानिसका लागि टाउको दुखाउने कारण बन्न सक्दछ । वर्तमान विश्वले सामना गरिरहेको कोरोना सङ्क्रमण पनि यस्तै एउटा समस्या हो । आर्थिक–सामाजिक पाटोबाट हेर्दा कोरोना सङ्क्रमणका कारण अति कम आय भएका, निम्न तथा मध्यमवर्गीयहरुमा यसको असर बढी हुने देखिन्छ । फलस्वरूप यसको मनोवैज्ञानिक असर पनि अल्पकालीन वा दीर्घकालीन रुपमा यिनीहरूमा नै बढी देखिने सम्भावना रहन्छ । तर पनि यसको प्रत्यक्ष तथा परोक्ष रूपमा प्रभाव पर्ने सबै मानिसहरुमा कुनै न कुनै खालको मनोवैज्ञानिक असर नदेखिएला भन्नचाहिँ सकिन्न । यति हुँदाहुँदै पनि यस सङ्क्रमण बारेको अधिक स्पष्टता, भरपर्दो उपचारका लागि भइरहेका विश्वव्यापी प्रयासहरु तथा समस्यालाई झेल्दा झेल्दै यो समस्या सामान्यीकरणतर्फ उन्मुख हुन सक्ने सम्भावनालाई समेत हेर्दा सङ्क्रमणबाट परोक्षरुपमा पर्नजाने मनोवैज्ञानिक असरहरू भने विस्तारै कम हुँदै जाने अपेक्षा गर्न सकिन्छ ।