
हेटौँडा : हेटौँडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा सडक विस्तारको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व सांसद विन्दवासिनी कंसाकारको परिवारले विरोध प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतको आदेश विपरित प्रशासनले जबर्जस्ती सडक विस्तार गरेको भन्दै रास्वपाकी पूर्वसांसद कंसाकारको परिवारले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।
त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा–२ कृष्ण मन्दिर नजिकै रहेको घर तथा पसल अगाडि कंसाकार परिवारले सडक बन्द गर्ने प्रयास स्वरूप टायर तथा काठ बालेर विरोध प्रदर्शन गरेका हुन् । कंसाकार परिवारले सडक सिमा क्षेत्रमा निर्माण भएका घर संरचना नभत्काउन सर्वोच्च अदालतले ‘स्टे अर्डर’ (अन्तरिम आदेश) जारी गरेको थियो । तर, सडक डिभिजन कार्यालय हेटौंडा र स्थानीय प्रशासनले अदालतको उक्त आदेशलाई बेवास्ता गर्दै बल प्रयोग गरेर सडक विस्तार कार्य अघि बढाएको उनीहरूको आरोप छ ।
शनिबार साँझ सडकमा निस्किएका परिवारका सदस्यहरूले प्रशासनको रवैया विरुद्ध आक्रोश पोख्दै मुख्य सडकमै आगो बालेका थिए । प्रदर्शनका कारण केही समय सो क्षेत्रको यातायात आवागमन समेत प्रभावित बनेको थियो । प्रशासनले भने हेटौंडा बजार क्षेत्रमा सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउने अभियानलाई तीब्रता दिइरहेको छ । शनिबार बिहानैबाट सडक कार्यालयले हेटौंडा बजार क्षेत्रको महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सिमामा निर्माण गरिएका संरचना हटाउन जेसिवी प्रयोग गरेको थियो । हेटौंडा–१५ रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुल तथा बुद्ध चोकदेखि सामरी पुल सम्मको ९.५ किलोमिटर क्षेत्रमा एसियन हाइवेको मापदण्ड अनुसार सडक सिमा (२५/२५ गज) खाली गराउने अभियानका लागि संरचना हटाउने काम थालिएको थियो । हाल प्रसाशनले २५/२५ गज (२२.५ मिटर) क्षेत्रमा निर्माण भएका संरचना हटाउने गरी जेसिवी प्रयोग गरेर घर टहरा भत्काउने काम थालेको हो ।