विश्वव्यापी कोभिडको आतङ्क बढ्दै गएको बेला नेपालमा एउटा एउटा म्युजिक भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । मानव सभ्यता माथि चुनौती बन्दै गरेको कोभिड आलोचनाका रुपमा चर्चित भएको हो । नेपाली एकता र संस्कृतिको प्रतिबिम्व बनेको राष्ट्रिय झण्डा जलाएर जातीय विभेदलाई बढावा दिने गरी म्युजिक भिडियो सार्वजनिक भएपछि नगन्य समर्थन बाहेक चौतर्फी आलोचना भएको छ । यो भिडियो कुनै सांगीतिक उद्देश्यबाट भन्दा नेपाली समाजलाई चोट पुर्‍याउने र सामाजिक सद्भावमा दखल दिने उद्देश्यबाटै प्रेरित देखिन्छ । कुनै भुलबस वा असावधानीले झण्डाको प्रयोग भएको हैन । जानाजान नेपाली संस्कृति माथि प्रहार गर्ने उद्देश्य भिडियोमा देखिन्छ । जातिगत आक्षेप लगाइएकोमा हैन कि गालिगलौजको शव्दको प्रयोग भएको छ ।

नेपालको सांस्कृतिक विविधतामा राष्ट्रिय एकता अडेको यथार्थ हो । जातजातिहरुका संस्कृतिले नै नेपाली राष्ट्रिय संस्कृति निर्माण भएको मान्न सकिन्छ । त्यसैले कुनै एक जाति वा संस्कृतिको संरक्षण मात्रले नेपाली पहिचान बलियो हुन सक्दैन । देश भित्र भएका सबै वर्ग, समुदाय, जातजाति र धर्म संस्कृतिको समान संरक्षण आवश्यक छ । कुनै एक वर्ग वा धर्मको विरोध वा समर्थनले सामाजिक सद्भाव भत्कने मात्र होइन राष्ट्रिय एकतामा आँच आउने छ । नेपाली समाजको सांस्कृतिक बनोटका आधारमा अडिएको राष्ट्रिय एकता विरुद्ध उद्देश्यमुलक ढंगबाट भिडियो सार्वजनिक भएको देखिन्छ । सबै जातजातिहरुले आफ्नो इतिहास खोज्नु पर्दछ । तर बसोवासको समयलाई आधारमा विभेद गर्ने हो भने मानव उत्पतिको इतिसास खोज्नु पर्दछ । आफुलाई अनुकुल हुने अवस्थासम्म पुगेर अपव्याख्य गर्ने काम कुनै पनि सभ्य समाजका लागि स्वभाविक हुँदैन ।

भिडियोमा प्रयुक्त भाषा, भेषभुषा र क्रियाकलापको चौतर्फी आलोचना सुरु भएपछि काठमाडौंदेखि मकवानपुरका प्रहरी संगठन परिचालन हुन बाध्य भए । मकवानपुरको पूर्वी क्षेत्रको एउटा विद्यालयमा गरिएको छायाङ्कनले मकवानपुर प्रहरीलाई विशेष दवाव परेको थियो । प्रहरीको सक्रियताले दुई दिन बीचमै भिडियो बनाउने मुख्य अभियुक्तदेखि संलग्न भएका ९ जना व्यक्ति प्रहरीको नियन्त्रणमा आएका छन् । पक्राउ गरेका ९ जनामध्ये ८ जना काठमाडौंमै पक्राउ परेका हुन् भने एकजनालाई मकवानपुर प्रहरीले बागमती गाउँपालिकाबाट पक्राउ गरेको छ । अब भिडियो बनाउनाको उद्देश्य र गतिविधिलाई सहयोग गर्ने समूहको खोजी हुन आवश्यक छ । पक्कै पनि यस्तो कार्य लहडबाजीमा गरिएको हुन सक्दैन । राष्ट्रिय वा अन्तराष्ट्रिय समूह जसको संलग्नता भए पनि खोजी गरिनै पर्दछ ।

नेपाली राष्ट्रियतालाई कमजोर पार्ने यस्तो कार्य गर्नेहरुले कानून बमोजिम कारवाही त भोग्ने नै पर्दछ । मुलुकी अपराध संहिता, २०७४ अनुसार जात, जाति सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात पुर्‍याएमा कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ । राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गरेमा वा नेपाल वा नेपाल सरकारविरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, जानीजानी अपमान गरेमा यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी प्रावधान रहेको छ । तर खलपत्रहरुको पहिचान गर्न सक्नु पर्दछ । नत्र यस्ता कर्म गर्नेहरुले फेरी अर्को मौकाको खोजी गर्ने छन् ।