एघारौं राष्ट्रिय स्क्र्याबल प्रतियोगिता–२०२५ उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री उर्मिला नेपाल ।

हेटौंडा : बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री उर्मिला नेपालले खेलकुदले सिकाउने अनुशासन र एकअर्कामा सम्मानको भावना राजनीतिमा पनि आवश्यक भएको बताउनुभएको छ । शुक्रबार हेटौँडा–२ स्थित बालजागृति अंग्रेजी माविमा एघारौं राष्ट्रिय स्क्र्याबल प्रतियोगिता–२०२५ उद्घाटन गर्नुहुँदै मन्त्री नेपालले राजनीतिमा पनि एकअर्कामा सकारात्मक भावना विकास हुनुपर्ने बताउनुभएको हो ।

मन्त्री नेपालले प्रतिशोध, आक्रमण र तोडफोडको राजनीतिले राज्यलाई कमजोर बनाउँदै लैजाने भएकाले कुनै पनि समस्यालाई संवाद, सहकार्य र मेलमिलापबाट निकास दिनुपर्नेमा जोड दिनुभयो । उहाँले राज्यलाई अगाडि बढाउन सबै लोकतन्त्रवादी शक्तिहरुबीच एकता अपरिहार्य रहेकोले एकताबद्ध रहन सबैलाई आग्रहसमेत गर्नुभएको छ । बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयले खेलाडीहरुले खेल खेलेरै जीवनयापन गर्न सक्ने वातावरण तयार गर्न लागिपरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्क्र्याबल खेलमा योगदान पु¥याउने मकवानपुरका प्रसिद्ध तिमल्सिनालगायत अन्य दुई जनालाई जनही ५ हजार नगदसहित सम्मान गरिएको छ । स्क्र्याबल खेलको विकासमा योगदान पुर्‍याउने क्लबका अध्यक्ष केशवप्रसाद पराजुलीलगायत विभिन्न जिल्लाका संयोजकहरुलाई पनि सम्मान गरिएको थियो ।

शुक्रबारबाट सुरु भएको प्रतियोगितामा नेपालका ३० जिल्लाका एक सय जना विद्यार्थीको सहभागिता छ । शनिबारसम्म चल्ने प्रतियोगितामा प्रथम हुने प्रतियोगीले १५ हजार रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने प्रतियोगीले १३ हजार र तेस्रो हुने प्रतियोगीले ११ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ । चौथोलाई ९ हजार, पाँचौंलाई ७ हजार, छैंटौंलाई ५ हजार, सातौंदेखि दशौं स्थान प्राप्त गर्नेलाई ३–३ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जानकारी दिएको छ । यस्तै, एघारौंदेखि पच्चीसौं स्थान प्राप्त गर्नेलाई जनही २ हजार रुपैैयाँ र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तिमल्सिना, क्लबका कोषाध्यक्ष पूर्णबहादुर राणा, क्लबका मकवानपुर जिल्ला संयोजक विवशजंग थापालगायत विद्यालयका पदाधिकारी, शिक्षक एवम् स्क्र्याबल क्लबका केन्द्रीय पदाधिकारीहरुको उपस्थिति थियो ।