हेटौंडा : दशैं, तिहारजस्ता मुख्य चाडपर्वको समयदेखि वृद्धि भएको तरकारीको मूल्य हिउँदा लाग्दासमेत घटेको छैन । अघिल्ला वर्षहरुमा चाडपर्वमा तरकारी तथा सागसब्जीको मूल्य बढे पनि चाड पर्वपछि विस्तारै ओरालो लाग्ने गरेको भए पनि यस वर्ष तरकारीको मूल्य झन् बढिरहेको पाइएको हो ।

बुधबार हेटौंडामा अधिकांश तरकारीको थोक मूल्य नै प्रतिकेजी एक सय रुपैयाँभन्दा माथि रहेको थियो । हरेकको घरको भान्सामा दैनिक पाक्ने आलु, टमाटर, साग, काउली, भिण्डीलगायतका तरकारी हुन् । यी सबै प्रकारका तरकारी तथा सागसब्जीहरु नियमित प्रयोग गरिने तरकारी हुन् । तर यी तरकारीमध्ये टमाटर, काउली, भिण्डी, परबलको थोक मूल्य नै प्रतिकेजी एक सय रुपैयाँभन्दा बढी छन् ।

उपभोक्ताहरुले खुद्रा बजारमा तरकारी किन्दा मूल्य अझै वृद्धि हुने भएकाले उपभोक्ता महंगीको मारमा परेका छन् । विगतमा हिउँद लागेपछि मूल्य घट्ने अपेक्षा गरेका उपभोक्ताहरु भने मूल्य घट्नुको सट्टा बढेका कारण मर्कामा परेका हुन् । तरकारीको मूल्य घट्ने अपेक्षा गरिरहेको भए पनि तरकारीको मूल्य नघटेपछि तरकारी खरिद गर्दा दैनिक खर्चसमेत बढेको हेटौंडा–४ का एक उपभोक्ताको गुनासो छ ।

अघिल्ला वर्षहरुमा यतिबेला मूल्य घट्न थालिसक्ने भए पनि यसवर्ष भने उपभोक्ताहरु महँगो मूल्यमा तरकारी किन्न बाध्य छन् । अघिल्लो वर्ष मंसिरमा करिब ६० रुपैयाँमा किन्ने गरेको भोलभेँडाको मूल्य १ सय २० रुपैयाँ नै कायम रहँदा उपभोक्ताहरु मूल्य घट्ने पर्खाइमा छन् ।

तरकारी तथा फलफूल व्यवसायी संघ मकवानपुरका अध्यक्ष कृष्णप्रसाद हुमागाईले हालसम्म तराइको तरकारी बजारमा नआएको र भारतबाट पनि कममात्र आयात भइरहेको हुँदा मूल्य घट्न नसकेको बताउनुभयो । बजारको मागअनुसार तरकारीको आपूर्ति नहुँदा मूल्य घट्न नसकेको उहाँले बताउनुभयो । अध्यक्ष हुमागाईंका अनुसार यस वर्ष हिउँदे र वर्षे दुबै सिजनको तरकारीहरु कम उत्पादन भएका र तराइको पर्याप्त उत्पादन बजारमा नआइसकेकोले पहाडी उत्पादनले मात्र बजार धान्न मुस्किल भएको हो । यसले गर्दा पनि मूल्य घट्न नसकेको उहाँले स्पष्ट पार्नुभयो ।

यस्तै, गत असोजमा परेको मोन्था चक्रवातको कारण नेपालको बागमती, मधेश र कोशी प्रदेशमा भएको वर्षाको कारण तराइमा तरकारीको खेती पनि ढिलोमात्र सुरु गरिएको अध्यक्ष हुमागाईंले बताउनुभयो । अबको एक महिनापछि तराइका उत्पादन बजारमा प्रवेश गर्ने र तरकारीको मूल्य ओरालो लाग्ने उहाँको भनाइ छ ।