हेटौँडा : अपाङ्गता समावेशी समाजको प्रवर्धन सामाजिक उन्नतिको सम्बर्धन भन्ने मूल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरूले बुधबार ३४ औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । दिवसको अवसरमा मकवानपुरकै नेत्रहीन राष्ट्रिय खेलाडी देवकी थापा मगरलाई नगदसहित सम्मान गरिएको छ । देवकीलाई नगद ५ हजार र सम्मानपत्र सहित सम्मान गरिएको अपाङ उत्थान समाजका सचिव कान्तिराज मैनालीले जानकारी दिनुभयो । देवकी नेत्रहिन खेलाडीको प्रतिनिधित्व गर्दै मकवानपुरबाट जानुभएको थियो ।
दिवसकै अवसरमा हेटौँडा–१०, बुद्धचोकमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा ४० जनाले रक्तदान गरेको अपाङ्गता उत्थान समाजका सचिव कान्तिराज मैनालीले बताउनुभयो । रक्तदान बागमती प्रदेश सामाजिक विकास मन्त्रालय र मकवानपुर अपाङ्ग उत्थान समाजको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश र ब्लड डोनर अफ अमेरिका (बिडिए)को समन्वयमा भएको थियो । रक्तदान कार्यक्रममा रक्तसंचार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । दिवसको अवसरमा अपाङ्ग उत्थान समाजले विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरू गर्दै आइरहेको छ ।
कार्यक्रम अपाङ्ग उत्थान समाजका अध्यक्ष ठाकुरराम थापाको सभाध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य एका लाल श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव अमृतबहादुर अधिकारी, महासेनानी मध्य पृतना हेडक्वार्टर सुपारेटार व्यारेकका सुरेन्द्र सापकोटाको विशिष्ट आतिथ्य रहेको थियो ।











