हेटौँडा: हेटौँडा–१८, हर्नामाडीस्थित मकवानपुर बालविद्या सदनका विद्यार्थीले कथा भन्ने ‘कथा चौतारी’ सुरु भएको छ । कक्षा–१ देखि कक्षा–६ सम्मका विद्यार्थी आफैंले कथा रचना गरेर अभिभावक, शिक्षक र आफ्ना साथीहरुको माझमा कथा प्रस्तुत गर्ने गरी विद्यालयले कथा चौतारीको परिकल्पना गरेको हो ।
मंसिर २३ गतेसम्म सञ्चालन हुने ‘कथा चौतारी’को पहिलो दिन मंगलबार कक्षा–५ का ३२ जना विद्यार्थीले कथा प्रस्तुत गरेका छन् । स्थानीय साहित्यकार ओमभक्त भण्डारीले कथा वाचन गर्नुभएपछि विद्यार्थीले क्रमशः कथा वाचन गरेका थिए । विद्यार्थीले आफ्नै परिवेशमा रहेर रचना गरेका नेपाली र अंग्रेजी भाषाका २ वटा कथा मध्ये एउटा कथा वाचन गरेका थिए । विद्यार्थीले कथा वाचन गर्दै गर्दा अभिभावक पनि साथमै बसेका थिए ।
मकवानपुर बालविद्या सदनले गत वर्षदेखि ‘कथा चौतारी’ सञ्चालन गरेको थियो । गत वर्ष १ कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीले कथा लेखन तथा प्रस्तुती गरे थिए भने यो वर्ष कक्षा–१ देखि कक्षा–६ सम्मका विद्यार्थीले कथा लेखन तथा वाचन गर्नेछन् । कथा लेखनका लागि शिक्षकहरुले करिब १ हप्ता अभिमुखीकरण गरेका थिए । कक्षा–५ का विद्यार्थीले झै–झगडा, खेती–किसानी, असल–खराब, वन, गाउँ, गरिब–धनीलगायतका सन्दर्भमा कथा लेखेर प्रस्तुत गरे ।
नेपाली र अंग्रेजी भाषामा कथा लेखेका विद्यार्थीले कथाको पुस्तक नै बनाएका छन् । २ वटा कथाका पुस्तकमा विद्यार्थीले सान्दर्भिक चित्र पनि कोरेका छन् । सोमबार सञ्जीव स्याङ्तानले मातृभाषा ‘तामाङ भाषा’मा कथा सुनाए । विद्यार्थीका कथा सुनेपछि समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले विद्यार्थीले आफ्नै परिवेशमा रहेर कथा बनाउँदै गर्दा अभिभावक र शिक्षकले बालबालिकाको मनोभावनालाई पनि बुझ्नुपर्ने बताउनुभयो । बालबालिकाका मनोभावना बुझेर शिक्षक–अभिभावकको आपसी सहकार्यमा बालबालिकालाई राम्रो वातावरण दिनुपर्ने सम्पादक श्रेष्ठको सुझाव थियो ।
विद्यालयका प्रिन्सीपल सुदीप राज गिरीले ‘कथा चौतारी’ मा बालबालिकाले कथा प्रस्तुत गर्दै गर्दा अभिभावकको उपस्थिति महत्वपूर्ण र प्रेरक हुने बताउनुभयो । मिलेसम्म बाबा–मामुलाई सहभागी हुन आव्हान गर्नुहुँदै प्रिन्सीपल गिरीले कम्तिमा एकजना सहभागी भएर बालबालिकालाई प्रोत्साहित गर्न आग्रह गर्नुभयो ।
बालबालिकालाई कथा लेखनका लागि अभिमुखीकरण गर्नुहुने नेपाली विषयकी शिक्षक गीता बजगाईंले बालबालिकाको प्रस्तुती राम्रो भएको बताउनुभयो । उहाँका अनुसार बालबालिकालाई कथा लेख्न अभिमुखीकरणका क्रममा सरल र साधारण तरिकाबाट बताइएको थियो । अंग्रेजी विषयकी शिक्षक सुस्मिता श्रेष्ठले नमूना कथा सुनाएर, पात्र, विषय बारे जानकारी गराएर कथा लेख्न प्रेरित गरिएको बताउनुभयो ।










