हेटौंडा : कवि यश लामाका कविता सङ्ग्रह ‘बहिष्कृत आवाज’माथि परिसंवाद कार्यक्रम भएको छ । शनिबार साहित्य संगम ममकवानपुरको ३६१ औँ नियमित साहित्य सन्ध्याको अवसरमा हेटौंडा–४ स्थित साहित्य संगम तथा सिस्नुपानी नेपाल मकवानपुरको सभाहलमा कार्यक्रम भएको हो ।
संगमका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षतामा भएको परिसंवाद कार्यक्रममा कवि देवराज तिवारीले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रममा बोल्नु हुँदै कवि लामाले साहित्य जीवनको अभिन अंगजस्तो लाग्ने र आफूले आमाको पेटबाट नै कविता लेखन सिकेको बताउनु भयो । लेखनमार्फत् पिँधमा रहेका तथा बहिष्करणमा परेकाहरुको आवाज सत्ताको कानसम्म पु¥याउने उद्देश्य रहेको उहाँको भनाइ छ । उहाँले कवितामा बन्दुकलाई प्रतिविम्बको रुपमा प्रस्तुत गरेको र आफले कविता लेखेर राजनीति गर्ने बताउनुभयो । यो उहाँको पहिलो कृति हो । यसको विमोचन २०८१ असोज ५ गते भएको थियो । बारा जिल्लाको निजगढ–७ मा जन्मिनु भएका लामा अहिले सोही स्थानको नेत्रोदय माध्यमिक विद्यालयमा नेपाली शिक्षकको रुपमा कार्यरत हुनुहुन्छ ।
कार्यक्रममा अनुसुया खनाल, भवानी तिमल्सिना, धर्मेन्द्र यादव र विविशा रुम्बालगायतले कविता वाचन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् संगमका संस्थापक सचिव आरआर चौलागाईं, विशिष्ट अतिथि तुलसी घिमिरे, सल्लाहकार डा. निमेष निखिलसहितका अतिथिहरुको उपस्थिति हरेको थियो ।











