हेटौँडा : हेटौँडामा हुन लागेको पहिलो संस्करणको सहिद स्मारक प्रिमियर लिगको अक्सन सम्पन्न भएको छ । शनिबार हेटौंडा–४, खोपेगल्लीस्थित आशीर्वाद होटलको सभाहलमा अक्सन भएको हो ।
अक्सनबाट खेलाडी खरिद गर्दा टोलीहरुले कुल ७० हजार ५० रुपैयाँ खर्चेको छ । अक्सनमा टोलीहरुलाई खेलाडी खरिद गर्दा अधिकतम २५ हजार रुपैयाँसम्म खर्चिन पाउने सीमा तोकिएको थियो । जसमध्ये सबभन्दा बढी बाघथली वारियरले १९ हजार ३ सय रुपैयाँ खर्चेको छ । बागेश्वरी टोल विकास संस्थाको आयोजनामा प्रतियोगिता मंसिर २० गतेदेखि सुरु हुँदैछ । प्रतियोगिता हेटौंडा–११ को वडा कार्यालय तथा अन्य संघसंस्था र व्यक्तिहरुको सहयोगमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा गल्फिनटार किङ, नवलपुर टाइटन्स, बाघथली वारियर र थानाभर्याङ मार्भिक्स गरी हेटौंडा–११ का चार वटा टोलीको सहिभागिता रहनेछ ।
आमन्त्रित टोलीको रुपमा हेटौंडा एकेडेमीको पनि सहभागिता रहेको छ । अक्सनमा हेटौंडा–११ का टोलीहरुको मात्र सहभागिता रहेको थियो । हेटौंडा एकेडेमी वडा बाहिरको आमन्त्रित टोली भएको हुनाले अक्सनमा भाग लिन नपाएको आयोजकले जनाएको छ । प्रतियोगिताको सबै खेल हेटौंडा एकेडेमीको मैदानमा हुनेछ । प्रतियोगिताको अन्तिम खेल मंसिर २७ गते हुनेछ । बागेश्वरी टोल विकास संस्थाकी अध्यक्ष उर्मिला आचार्यको प्रमुख आतिथ्यमा अक्सन भएको थियो । आगामी दिनमा अझै व्यापकरुपमा प्रतियोगिता आयोजना गर्ने आयोजकले जनाएको छ ।











