श्रीधर पोखरेल, अध्यक्ष, नेकपा एमाले मकवानपुर

हेटौँडा : नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल महाधिवेशन प्रतिनिधिको निर्वाचनमा पराजित हुनुभएको छ । एमालेको ११औं महाधिवेशनका लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि निर्वाचनमा उम्मेदवार बन्नु भएका पोखरेल शनिबार सम्पन्न निर्वाचनमा पराजित हुनुभएको हो ।

मंसिर २७ गतेदेखि २९ गतेसम्म काठमाडौँमा हुने एमालेको ११औं महाधिवेशनका लागि मकवानपुरका २ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरु छनौट भइसकेका छन् । मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ मा सर्वसम्मतिबाट प्रतिनिधि चयन गरिएको छ भने क्षेत्र नम्बर–१ मा शनिबार चुनाव भएको थियो । शनिबार हेटौँडा–४ स्थित भुवनेश्वर महादेव मन्दिरको सभाहलबाट २२ जना प्रतिस्पर्धीहरुमध्ये ८ जना निर्वाचित भएका हुन् । जसमा अध्यक्ष पोखरेलले ३३४ मत पाउनुभएको थियो ।

निर्वाचनबाट नविन सिग्देल (७७६ मत), सुनिल मोक्तान (६८८ मत), फुर्वा दोर्जे लामा (५८० मत), अणराज जर्गा मगर (४२० मत), आरती पाठक (९७६ मत), सीता विष्ट (८०४ मत), विना कुमारी थिङ (५९१ मत) र बोल बहादुर कार्की (४६० मत) निर्वाचित हुनुभएको छ । सिग्देल, लामा र मोक्तान क्रमशः हेटौंडा ४, १० र १५ का वडा अध्यक्ष हुनुहुन्छ ।

मकवानपुर क्षेत्र नम्बर–२ बाट भने महाधिवेशन प्रतिनिधिका रुपमा बलराम बल, एका लाल श्रेष्ठ, हिदम लामा, बिदुर हुमागाई, सुमित्रा काफ्ले, भगवती पुडासैनी, गीता प्रजा र रोहण लामा निर्विरोध रुपमा चयन हुनुभएको छ । सो क्षेत्रबाट मात्र खुला तर्फ १६, महिला तर्फ १० र युवा तर्फ ६ गरी जम्मा ३२ जनाले उम्मेदवारी दर्ता गरेका थिए । निर्वाचन कमिटिका प्रमुख निर्वाचन अधिकृत सूर्यचन्द्र न्यौपानेका अनुसार महाधिवेशनमा सहभागी हुन मकवानपुरबाट क्षेत्र नम्बर १ बाट खुला ४, महिला ३ र युवा १ गरी ८ जना तथा क्षेत्र नम्बर २ बाट पनि सोही अनुपातमा ८ जना प्रतिनिधि चयन हुने व्यवस्था बमोजिम निर्विरोध चयन गरिएको हो ।