हेटौंडा : चीनको ग्वान्डोङ प्रान्तमा आगामी वर्ष हुने अन्तर्राष्ट्रिय साना तथा मझौला व्यवसाय प्रदर्शनी तथा व्यापार मेलामा सहभागी हुन बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयलाई आमन्त्रण गरिएको छ । शुक्रबार चीनको ग्वान्डोङ प्रान्तको उद्योग तथा सूचना प्रविधि विभागका उपमहानिर्देशक वान सुपिङ नेतृत्वको टोलीले बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठसँग भेटघाट तथा अन्तरक्रिया गर्दै आगामी वर्ष हुने प्रदर्शनीमा सहभागी हुन आमन्त्रण गरेको हो ।

अन्तरक्रियामा मन्त्री श्रेष्ठले नेपाली साना तथा मझौला व्यवसायीहरुले सो प्रदर्शनी तथा व्यापार मेलामा भाग लिन जाँदा सामान लैजान र ल्याउन असहज हुने भन्दै प्रत्येक वर्ष नेपाली व्यवसायीहरुलाई सहभागी गराउँदै आएकोले सामान सोही स्थानमा राख्ने व्यवस्था मिलाउन अनुरोध गर्नुभएको छ । सो प्रदर्शनी तथा व्यापार मेलामा स्टल राख्न लैजाने हस्तकलाका सामग्रीहरु चीनको अध्यागमनमा गैरकानुनी भन्दै दुःख पाउने अवस्था रहेकाले अध्यागमन विभागसँग प्रदर्शनी आयोजकलाई समन्वय गर्न पनि अनुरोध गर्नुभएको छ ।

नेपालबाट सन् २०१८ देखि नै प्रत्येक वर्ष हुने यो अन्तर्राष्ट्रिय प्रदर्शनीमा ३० देखि ३५ वटासम्म नेपाली व्यववसायीहरुले हस्तकलालगायतका साना उद्योगहरुबाट उत्पादित सामग्रीहरुको स्टल राख्ने गरेका छन् । तर, प्रदर्शनीमा लैजाने ढलोटबाट निर्मित मूर्तिहरु, थान्कालगायतका बहुमूल्य नेपाली हस्तकलाका सामग्रीहरु गैरकानुनी भन्दै अध्यागमनमा रोकिने गरेकाले आयोजकलाई समन्वय गरिदिन पनि मन्त्री श्रेष्ठले चिनियाँ प्रतिनिधीहरुसँग आग्रह गर्नुभएको छ ।

अन्तरक्रियामा साना तथा मझौला व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष इनु पौडेलले अध्यागमनमा सामान रोकिने समस्या हल गर्न नेपाली महावाणिज्य दूतावासले ध्यान नदिएको र समन्वय नगरको गुनासो गर्नुभएको छ । उहाँले महावाणिज्य दूतावासले स्पष्टरुपमा समन्वय गरेमा यो समस्या नरहने सुझाव दिनुभयो ।

विश्वबजारमा नेपाली उत्पादनहरु चिनाउन तथा अन्य देशका प्रविधिहरुबारे जानकारी आदानप्रदान गर्ने उद्देश्यले चीनको ग्वान्डोङ प्रान्त सरकारले प्रत्येक वर्ष यस्तो प्रदर्शनीमा नेपाललाई आमन्त्रण गर्दै आएको जनाएको छ । आगामी वर्ष सन २०२६ मा पनि सो प्रान्तले सेप्टेम्बर ३ देखि ६ सम्म अन्तर्राष्ट्रिय प्रदर्शनी मेला आयोजना गर्न लागेको जानकारी दिँदै नेपाली व्यवसायीहरु तथा बागमती सरकारको उद्योग मन्त्रालयलाई पनि भाग लिन आयोजकले नेपाल भ्रमणका क्रममा आमन्त्रण गरेको हो ।

भेटघाट तथा अन्तरक्रियामा चिनियाँ पक्षबाट ग्वान्डोङ प्रान्तका उद्योग तथा सूचना प्रविधि विभागका उपमहानिर्देशक वान सुपिङका साथै अन्तर्राष्ट्रिय साना तथा मझौला व्यवसाय प्रदर्शनी ब्युरोका उपमहानिर्देशक हुवान जियान्जुङलगायत सदस्यहरुको सहभागिता थियो । नेपाली पक्षबाट बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव हेमराज भुषाललगायतका कर्मचारी, पदाधिकारी तथा साना तथा मझौला व्यवसायी संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।