हेटौँडा: लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत दोस्रो दिन बुधबार हेटौँडा क्याम्पसका विद्यार्थीहरूसँग किशोरी संवाद कार्यक्रम सम्पन्न भएको छ । हेटौँडा उपमहानगरपालिकाको आयोजना तथा मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्ध सञ्जालको समन्वयमा भएको कार्यक्रममा हेटौँडा क्याम्पसमा अध्ययनरत डेढ सय भन्दा बढी किशोरी विद्यार्थीहरूको सहभागिता थियो ।
विशेषगरी आफ्नो घरबाट उच्च शिक्षा प्राप्तिको सिलसिलामा घर बाहिर बसोबास गर्दै आइरहेका किशोरीहरु यौनजन्य दुव्र्यवहार तथा अन्य लैङ्गिक हिंसामा पर्ने खतरा बढी भएकोले उनीहरुलाई हिंसाका घटनाबाट बच्न कसरी प्रतिकार गर्ने भन्ने बारे सहजीकरण गरिएको थियो । कार्यक्रममा किशोरीहरुले घरबाहिर बस्दा भोगेका दुव्र्यवहार तथा हिंसाको विषयमा दोहोरो संवाद गरिएको थियो ।
हेटौँडा उपमहानगरपालिका प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महिला, बालबालिका तथा समावेशी महाशाखा प्रमुख विष्णु कुमारी लामिछाने, सञ्जालकी अध्यक्ष आरती पाठक, माइती नेपाल मकवानपुरको संयोजक माया लामा, गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटाको सहभागिता रहेको थियो । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको क्रममा उपमहानगरपालिकाले मंगलबार मकवानपुर क्याम्पसका किशोरीहरूसँग पनि सम्वाद कार्यक्रम गरेको थियो ।
