हेटौंडाः पिप्ले युवा क्लब एक खेलअगावै ‘सी’ डिभिजनमा प्रवेश गर्न असफल भएको छ । ललितपुरको सातदोबाटोमा जारी ‘सी’ डिभिजन छनोट प्रतियोगितामा मंगलबार भएको खेलमा मुसौरिया फुटबल क्लबले पञ्चकोशी युवा क्लबलाई हराएसँगै पिप्ले युवा क्लबको ‘सी’ डिभिजनमा प्रवेश गर्ने बाटो बन्द भएको हो ।
मुसौरिया फुटबल क्लबले पञ्चकोशी युवा क्लबलाई ३–१ गोल अन्तरले हराउँदै प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गरेको छ । यसअघि मंसिर ५ गते भएको खेलमा पिप्ले युवा क्लब मुसौरिया फुटबल क्लबसँग ३–२ गोलअन्तरले पराजित भएको थियो । अब पिप्ले युवा क्लबले समूह चरणको दोस्रो तथा अन्तिम खेल मंसिर १२ गते पञ्चकोशी युवा क्लबसँग खेल्नेछ ।
मुसौरिया विरुद्धको खेलमा सुरुमा अग्रता लिए पनि पछि हार्न पुग्दा यो वर्ष टिमले ठूलो अवसर गुमाएको पिप्ले युवा क्लबका अध्यक्ष सुविन घिमिरेले बताउनुभयो । ‘खेल हारे पनि हिम्मत हारेका छैनौँ’, घिमिरेले भन्नुभयो– ‘अर्को वर्ष अझै बलियो भएर फेरि ‘सी’ डिभिजन छनोट खेल्नेछौं ।
मंसिर ४ गतेदेखि अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सुरु भएको प्रतियोगितामा पिप्ले युवा क्लबसहित देशभरका ३९ वटाको टिमको सहभागिता रहेको छ । टिमहरुलाई १३ वटा समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेताले प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश पाउनेछ । छनोट प्रतियोगिताको विजेता र उपविजेता टोलीले ‘सी’ डिभिजनमा प्रवेश पाउनेछ ।
