हेटौँडा : चौथो अन्तरविद्यालयस्तरीय खुल्ला एकल गायन प्रतियोगिता आगामी फागुन महिनामा हुने भएको छ । हेटौंडा–५, पिप्लेस्थित ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालयको आयोजना प्रतियोगिता फागुन ६ गते हुने तय भएको हो ।

बालबालिकामा रहेको अन्तर्निहित प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले गीतकार तथा संगीतकार भीम विरागको स्मृतिमा प्रतियोगिता आयोजना हुने आयोजकले जनाएको छ । सोमबार आयोजक विद्यालयले सूचना जारी गरी इच्छुक विद्यालयहरुलाई नाम दर्ताका लागि आव्हान गरेको छ । प्रतियोगितामा सहभागी हुन कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थी हुनुपर्नेछ । प्रत्येक विद्यालयले फरक–फरक गायकबाट दुई वटासम्म प्रस्तुुती दिन सक्ने छ । गीत शुद्ध नेपाली भाषामा हुनु पर्ने अश्लील तथा उच्छृङ्खल गीतलाई प्रतियोगितामा सहभागी नगराइने आयोजकले जनाएको छ ।

गायनका क्रममा प्रयोग हुने वाद्यवादन सहभागी आफैंले गर्नुपर्नेछ । ट्र्याकमा गाउनेले आफूले गाउने गीतको ट्रयाक आफैंले उपलब्ध गराउनु पर्नेछ । यसैगरी सहभागी प्रतिभा तथा वाद्यवादकहरु विद्यालय बाहेकको पोशाकमा सहभागी हुनुपर्ने छ । एकपटक प्रथम स्थान हासिल गरिसकेका कलाकारले पुनः प्रतियोगितामा सहभागी हुन नपाउने आयोजकले स्पष्ट पारेको छ । वाद्यवादनसहितको प्रस्तुतीलाई विशेष प्राथमिकता दिने आयोजकले जनाएको छ ।

इच्छुक विद्यालयहरुले माघ मसान्तभित्र नाम दर्ता गराउन सक्नेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने एक जनाले प्रोत्साहन स्वरुप २ हजार ५ सय नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।