हेटौँडा : औपचारिक क्षेत्रका कामदार, कर्मचारीहरुले भोग्दै आएको श्रमशोषणका घटना सार्वजनिक नहुने समस्या रहेको बताइएको छ । अनौपचारिक तथा दैनिक ज्यालादारीमा आधारित निर्माण श्रमिकहरुको भन्दा शिक्षित एवम् औपचारिक क्षेत्रमा कर्मचारीको श्रमशोषण लुकेर रहने गरेको श्रम तथा रोजगार कार्यालय मकवानपुरले जानकारी दिएको हो ।
श्रम तथा रोजगार कार्यालय मकवानपुर तथा हेटौँडा उपमहानगरपालिकाले शनिबार संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा कार्यालयले उक्त तथ्य उजागर गरेको छ । संस्थागत (निजी) विद्यालयहरुमा कार्यरत श्रमिक (शिक्षक तथा कर्मचारी) हरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै श्रमशोषणको अवस्थाबारे जानकारी दिइएको हो ।
श्रम कार्यालयमा प्रायः दैनिक ज्यालादारीमा काम गर्ने अनौपचारिक क्षेत्रका श्रमिकहरुबाट उजुरी पर्ने गरेको भए पनि निजी औपचारिक क्षेत्रका कर्मचारीहरुबाट उजुरी नै नआउने कार्यालयल प्रमुख रुद्रनारायण साहले जानकारी दिनुभयो । वास्तविक पारिश्रमिकभन्दा बढी पारिश्रमिक रकम भुक्तानीका रसिदहरु भेटिने गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा सहजीकरण गर्दै कार्यालय प्रमुख साहले श्रमिकहरुको हक, अधिकार र कर्तव्य तथा वर्तमान श्रम कानूनहरुबारे जानकारी दिनुभएको छ । उहाँले हाल कार्यान्वयनमा रहेका श्रम ऐन २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन २०७४ मा रहेका श्रमिक लक्षित अधिकारको व्यवस्था तथा संघसंस्थाले ऐनले तोकिएबमोजिम न्यूनतम ज्याला वा पारिश्रमिक नदिएमा वा श्रमशोषण गरेमा श्रमिकहरुले वा निजी क्षेत्रका कर्मचारीहरुले गर्नुपर्ने कानुनी प्रक्रियाबारे जानकारी दिनुभएको थियो ।
कार्यक्रममा हेटौँंडा उपमहानगरपालिकाका उपनिर्देशक भीमप्रसाद तिमल्सिना, अभिभावक संघका अध्यक्ष रमिला सापकोटा, संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का बागमती प्रदेश अध्यक्ष सुदीप बर्तौला, इस्टुका हेटौंडा नगर कमिटी अध्यक्ष नवीन मिश्रलगायत हेटौंडाका निजी तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरुको सहभागिता थियो । कार्यक्रममा सहभागी हुन निजी तथा संस्थागत बिद्यालयका सञ्चालकहरुलाई आमन्त्रण गरिए पनि विद्यालयका सञ्चालकहरु भने अनुपस्थित रहेको आयोजकले जनाएको छ ।











