हेटौंडाः चितवन जिल्लामा दुर्घटनामा परि एकै दिन दुई जनाको मृत्यु भएको छ । शनिबार छुट्टाछुट्टै दुर्घटना परि चितवन जिल्लामा दुई जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
शनिबार बिहान ५ बजेर ४५ मिनेटको समयमा माडी नगरपालिका–१ स्थित गर्दीमा बा प्र ०३–००१ ख २८८७ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । बसको ठक्करबाट माडी–१, सेरुवाका ६२ वर्षीय फिरल महतोकोे घटनास्थलमै मृत्यु भएको थियो ।
अनियन्त्रित भई सडकबाट तल खेतमा खसेको बसमा सवार २ जना सामान्य घाइते भएका थिए । घाइतेहरु बसमा सवार माडी–२, चिरौली बस्ने ५ वर्षीय देवांश महतो र भरतपुर महानगरपालिका–२७ बस्ने ३० वर्षीया सुनिता महतो बघौडा अस्पताल माडीमा सामान्य उपचारपश्चात डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ । फरार बस चालकको खाजतलास भइरहेको र बस इलाका प्रहरी कार्यालय माडीको नियन्त्रमा रहेको छ ।
शनिबार राति १० बजेर ५० मिनेटको समयमा कालिका नगरपालिका–११, सिद्धिकल्याण चौरस्थित भित्री सडकखण्डमा बलेरो दुर्घटनाहुँदा चालकको मृत्यु भएको छ । सिद्धिबाट कल्याण चौरतर्फ जाँदै गरेको बा १८ च ८९७३ नम्बरको बलेरो आफैँ अनियन्त्रित भई सडकबाट १५० मिटर तल खसी दुर्घटना भएको थियो ।
घाइते बलेरो चालक चितवन खैरहनी नगरपालिका–४ का ६३ वर्षीय राममणि न्यौपानेलाई उपचारका लागि भरतपुर पठाइएको थियो । भरतपुर अस्पतालमा उपचारको क्रममा राति १२ बजेर १५ मिनेटको समयमा डाक्टरले न्यौपानेलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।











