Home मुख्य समाचार म्यानेजमेन्टका विद्यार्थीले गरे खाद्यान्न र प्रिन्टर सहयोग

म्यानेजमेन्टका विद्यार्थीले गरे खाद्यान्न र प्रिन्टर सहयोग

आशा फाउण्डेशनलाई खाद्यान्न हस्तान्तरण गर्दै विद्यार्थी ।

हेटौँडा : हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीले हेटौँडा–७ स्थित ‘सि आशा फाउन्डेसन’ द्वारा सञ्चालित आशा विशेष पाठशालालाई खाद्यान्न र एक थान प्रिन्टर सहयोग गरेका छन् । कक्षा १२ को भानुभक्त सेक्सनमा अध्ययनरत होटेल म्यानेजमेन्ट समूहका विद्यार्थीले खाजा खर्च जोगाएर खाद्यान्न र प्रिन्टर सहयोग प्रदान गरेका हुन् ।

उनीहरुले फाउन्डेसनलाई ६० केजी चामल र १० केजी दाल सहयोग गरेका हुन् । सोही अवसरमा क्याम्पसका पूर्व प्राध्यापक संयुक्त राज्य अमेरिका निवासी डा. निरज श्रेष्ठ र उहाँको परिवारले २१ हजार १ सय रुपैयाँ मूल्यको एक थान प्रिन्टर र केही बाकस फोटोकपी पेपर पनि फाउन्डेसनलाई हस्तान्तरण गरिएको छ । शिक्षक तथा विद्यार्थीको समूहले फाउन्डेसनद्वारा सञ्चालित विशेष पाठशालाको अवलोकन भ्रमण समेत गरे ।

सि आशा फाउन्डेसनले सुस्त मनस्थिति, डाउन सिन्ड्रोम तथा अटिजम लगायतका शरिरिक वा मानसिक दूर्वलता भएका विद्यार्थीलाई छात्रवास तथा दिवा खाजासहितको शिक्षा प्रदान गर्दै आइरहेको छ । फाउन्डेसनको हेटौँडा–७ स्थित विशेष पाठशालामा ९० जना बालबालिका अध्ययनरत छन् । उच्च शिक्षा अध्ययन गर्दै गर्दा विद्यार्थीले समाजमा भएका फरक वास्तविक अवस्थाबारे जानकारी हुने र सेवाभाव जागृत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्राध्यापक अमूल श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रमको संयोजन क्याम्पसका होटल म्यानेजमेन्ट विभागका संयोजक प्राध्यापक राजीव कर्णले गर्नुभएको थियो ।

Exit mobile version