हेटौँडा : बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि १३ बुँदे प्रतिवद्धता पत्र जारी गरेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले डिजिटल स्वास्थ्य सेवादेखि विशेषज्ञ सेवामा जोड दिने भएको हो ।
मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले हेटौँडामा आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा गोष्ठीले प्रदेशको स्वास्थ्य सेवालाई प्रविधिमैत्री, सर्वसुलभ र गुणस्तरीय बनाउने संकल्प गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ देखि प्रदेश मातहतका सबै अस्पताल र आयुर्वेद चिकित्सालयहरुमा ‘ईलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली पूर्णरुपमा लागू गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ भने ‘बागमती प्रदेश हेल्थ डिजिटालाइजेसन’ को अवधारणा अन्तर्गत भक्तपुर, हेटौँडा र त्रिशूली अस्पताललाई प्रदेशको हब अस्पतालको रुपमा विकास गरी टेलिमेडिसिन सेवा सुरु गरिने भएको हो । सो हब अस्पतालहरुले प्रदेश र स्थानीय तहका कम्तीमा १५ वटा अन्य अस्पताललाई स्याटेलाइट (स्पोक) अस्पतालको रुपमा जोडेर दूर चिकित्सा सेवा प्रदान गर्ने योजना रहेको छ ।
यसैगरी नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ भने स्थानीय तहसँगको सहकार्यमा प्रदेशका सबै वडाहरुमा नसर्ने रोगको निःशुल्क परीक्षण कार्यक्रम सञ्चालन गरिनेछ । साथै, ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी, एक घण्टा मेरा लागि’ जस्ता सचेतना अभियानका साथै योग, ध्यान र प्राणायम कार्यक्रमहरु पनि सञ्चालन गरिनेछ । प्रदेशका सबै अस्पतालहरुमा विशेषज्ञ चिकित्सा सेवा सुनिश्चित गर्न ‘प्रदेश विशेषज्ञ चिकित्सा सेवा प्रोत्साहन कार्यक्रम’ लागू गरिने प्रतिवद्धता रहेको छ भने स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका दुर्गम स्थानहरुमा स्थानीय तहसँगको समन्वयमा विशेषज्ञसहितको एकीकृत स्वास्थ्य तथा पोषण प्रवर्धन अभियान चलाइनेछ । उक्त कार्यका लागि निजी अस्पतालहरुलाई समेत उत्तरदायी बनाइने गोष्ठीको निश्कर्ष रहेको छ ।
स्वास्थ्य सुशासनमा पनि विशेष जोड दिँदै ‘प्रदेश स्वास्थ्य सुशासन सूचक’ तयार गरी सबै स्वास्थ्य कार्यालयहरुको मूल्यांकन गर्ने, पारदर्शिता र जवाफदेहिता बढाउन सबै प्रकारका खरिद प्रक्रियालाई बोलपत्रमार्फत अघि बढाउने र पुराना तथा काम नलाग्ने उपकरणहरुलाई लिलामी गरी जिन्सी प्रणालीलाई व्यवस्थित गर्ने, काठमाडौं उपत्यका तथा ठूला शहरहरुमा अस्थायी बसोबास गर्ने तथा चलायमान समुदायका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्न विशेष नक्सांकन गरी सेवा उपलब्ध गराउने व्यवस्था मिलाउने प्रतिवद्धता गरिएको छ ।
आपतकालीन स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रको सुदृढीकरण र सबै जिल्लाका स्वास्थ्य आपतकालीन कार्ययोजनालाई अद्यावधिक गर्ने, प्रदेश स्वास्थ्य नीति, २०८१, प्रदेशको दोश्रो आवधिक योजना तथा स्वास्थ्यसम्बन्धी राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय लक्ष्यहरु हासिल गर्न केन्द्रित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
