Home मुख्य समाचार सडक डिभिजनको अल्टिमेटमपछि काम अलपत्र पार्ने ठेकेदारले बुझाए स्पष्टीकरण

सडक डिभिजनको अल्टिमेटमपछि काम अलपत्र पार्ने ठेकेदारले बुझाए स्पष्टीकरण

हेटौंडाः सडक तथा पुल निर्माणको ठेक्का लिएर लामो समयदेखि काम अलपत्र पार्ने निर्माण व्यवसायी (ठेकेदार)हरुले स्पष्टीकरण बुझाएका छन् । मकवानपुर, बारा र पर्सा जिल्लामा काम अलपत्र पारेका निर्माण व्यवसायीहरुले सडक डिभिजन कार्यालय हेटौंडामा स्पष्टीकरण बुझाएको सडक डिभिजन कार्यालय हेटौंडाका सूचना अधिकारी यादव सुवेदीले जानकारी दिनुभयो ।

कार्यालयले गत कार्तिक ९ गते सूचना जारी गर्दै १५ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाउन अल्टिमेटम दिएको थियो । निर्माण व्यवसायीहरुले बुझाएको स्पष्टीकरणमाथि छलफल भइरहेको सूचना अधिकारी सुवेदीको भनाइ छ । कार्यालयका अनुसार पटक–पटक म्याद थप हुँदै आए पनि दर्जनौं आयोजनाको प्रगति सन्तोषजनक देखिएको छैन । विशेषगरी पुराना र ठूला ठेक्का ओगटेका पप्पु कन्स्ट्रक्सन र मोना जेभीलगायतका कम्पनीसँग सम्बन्धित आयोजनाहरु बढी समस्याग्रस्त देखिएका छन् ।

पर्साको जीतपुर–बिरुवागाउँ–श्रीपुर–पचगाव सडकखण्डमा पर्ने टिलावे नदीमाथि पुल निर्माणको ठेक्का लिएको पप्पु कन्स्ट्रक्सनले हालसम्म ५८ प्रतिशतमात्रै काम सकेको छ । आर्थिक वर्ष २०६७/०६८ मा २ करोड १४ लाख २५ हजार ६ सय १४ रुपैयाँमा ठेक्का सम्झौता भएको यो पुल २०७० साउनमै बनिसक्नुपर्ने थियो । तर, पटक–पटक म्याद थप गर्दै पछिल्लो पटक २०८१ चैत १६ गतेसम्म पुर्‍याइएको थियो ।

त्यस्तै, परवानीपुर र पथलैया आइसीडी रोडको स्तरोन्नतिको जिम्मा लिएको पप्पु र लुम्बिनी जेभीले सम्झौताको ८ वर्ष बितिसक्दा ८० प्रतिशतमात्र प्रगति गरेको छ । ४८ करोड २५ लाख २० हजार ४ सय ६१ रुपैयाँको यो आयोजनाको म्याद २०८२ असोजसम्म थपिएको थियो ।

पुल निर्माणमै अन्य कम्पनीहरुको प्रगति पनि निराशाजनक छ । बाराको बनजरियास्थित बंगरी खोलामा पुल बनाउन ठेक्का लिएको इलाइट र मोना जेभीले ८४ प्रतिशत काम सकेका छन् । आर्थिक वर्ष २०७०/०७१ मा ५ करोड ४३ लाख ३७ हजार ७ सय २१ रुपैयाँमा ठेक्का सम्झौता भएको यो पुल विसं २०७३ सालको असार महिनामै बनिसक्नु पर्ने थियो । तर पटक–पटक म्याद गरी २०८२ को पुससम्म योजनाको म्याद लम्ब्याइएको छ ।

डीएस र मोना जेभीले जिम्मा लिएका तीनवटा पुलको अवस्था पनि उस्तै छ । पर्साको इटियाही र मनियारी बीचको सिर्सिया नदीको पुल र निचुता मारेटोलको गंगोल खोलाको पुलको प्रगति ५० प्रतिशत पनि पुगेको छैन । यी दुवै पुल २०७६ सालमै सकिनुपर्नेमा म्याद थपेर २०८१ असारसम्म पु¥याइएको थियो । सोही निर्माण कम्पनीको जिम्मामा रहेको झखरा–शान्थि सडकखण्डको गंगोल खोला पुलको प्रगति भने ७२ प्रतिशत छ ।

सडक निर्माणतर्फ बाराको पचरौता नगरपालिकास्थित श्रीनगर बैरिया हनुमानचोक –गण्डक नहर सडकखण्डको काम पनि सुस्त छ । गणेश निर्माण सेवा प्रालि हेटौंडाले १६ करोड ५४ लाख १५ हजार ७ सय ४८ रुपैयाँमा ठेक्का लिएको यो सडकको प्रगति ६५ प्रतिशत छ । २०८१ माघभित्र सक्ने लक्ष्यसहित आर्थिक वर्ष २०७९/०८० भएको सम्झौताको म्याद थपिएर २०८२ कात्तिकसम्म पुर्‍याइएको थियो । सडक डिभिजन कार्यालयले व्यवसायीहरूले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभए कालो सूचीमा राख्ने वा ठेक्का रद्द गर्ने चेतावनी दिएको छ ।

Exit mobile version