हेटौँडा : लागूऔषध खैरो हेरोइनसहित मकवानपुरको बकेया गाउँपालिका–४, छतिवनका ३९ वर्षीय सोमबहादुर थोकरलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो ४ बजेर ५ मिनेटको समयमा हेटौँडा–१८, स्याउली बजारबाट सोमबहादुरलाई लागूऔषध खैरो हेरोइन ४ ग्राम ९४० मिलिग्रामसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
हेटौँडा–सिन्धुली मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौँडा–१८, स्याउली बजारमा बा प्र ०३–००५ प ३१०१ नम्बरको मोटरसाईकल रोकेर बसिरहेका सोमबहादुरलाई शंका लागेर प्रहरीले तलासी गर्दा सोमबहादुरको साथबाट लागूऔषध बरामद भएको प्रहरीको भनाइ छ । प्रहरीले मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिएर सोमबहादुरलाई हिरासतमै राखेको छ ।
