हेटौंडा : सहिद स्मारक ‘सी’ डिभिजन छनोट खेल्ने तयारीमा रहेको हेटौंडाको पिप्ले युवा क्लबलाई ७० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा काठमाडौंमा हुन लागेको छनोट प्रतियोगितामा सहभागिता तथा टिम व्यवसथापनका लागि सरस्वती युवा क्लबका पूर्वअध्यक्ष कोटश्वर निवासी शिक्षित पराजुली र बसन्त गजुरेलले पिप्ले युवा क्लबलाई ५० हजार रुपैयाँ सहयोग गर्नु भएको हो । यसैगरी, हेटौंडाका फुटबल खेलाडी निरज सिंह ठकुरी र विवेक कार्कीले २० हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
क्लबलाई सहयोग आउने क्रम जारी रहेको पिप्ले युवा क्लबका अध्यक्ष सुविन घिमिरेले जानकारी दिनुभयो । यसअघि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ ले २ लाख, भीमफेदी गाउँपालिकाले २ लाख, हेटौंडा उपमहानगरपालिका–२ निवासी विक्रम शाही खड्की र हेटौंडा–५ निवासी सकुल श्रेष्ठले ५० हजार सहयोग गर्नुभएको थियो । काठमाडौंको दियालो फोर्स सेक्युरिटीका सञ्चालक हेटौंडा–५ निवासी प्रकाश पुरी र हेटौंडा–१० निवासी प्रदीप कँडेलले दुई लाख रुपैयाँ सहयोग गर्नुभएको थियो ।
प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा पिप्ले युवा क्लबसहित देशभरका ३९ वटाको टिमको सहभागिता रहनेछ । पिप्ले युवा क्लबले प्रतियोगिताको आफ्नो पहिलो खेल शुक्रबार मुसौरिया फुटबल क्लबसँग खेल्नेछ । टोली बिहीबार बिहान काठमाडौं प्रस्थान गर्ने क्लबका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । प्रतियोगिताको विजेता र उपविजेता टोलीले ‘सी’ डिभिजनमा प्रवेश पाउनेछ ।
