केक काटेर वार्षिकोत्सव मनाउँदै ।

हेटौँडा : बागमती प्रदेशको राजधानी हेटौँडाबाट प्रकाशन हुँदै आएको समृद्ध समाज राष्ट्रिय दैनिकले १६औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । सोमबार हेटौँडास्थित होटल एभोकाडो एण्ड अर्किड रिसोर्टमा वार्षिकोत्सव समारोह भएको हो ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै सम्पादक सुरेश श्रेष्ठले छापा माध्यमका लागि पाठकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै पठन संस्कृतिको विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले पठन संस्कृतिको विकासका लागि समृद्ध समाजले निरन्तर प्रयास गर्दै आएको पनि बताउनुभयो । वार्षिकोत्सवको अवसरमा समृद्ध समाज राष्ट्रिय दैनिकले पठन संस्कृतिको विकासमा अभिभावकको भूमिका विषयक बहस आयोजना गरेको थियो । समृद्ध समाजकी संवाददाता सुमिना चौलागाईले सहजीकरण गर्नुभएको कार्यक्रममा सेवानिवृत्त शिक्षक पुरनबहादुर जोशी, बालसंरक्षण विज्ञ सुशील राज गिरी र मकवानपुरको मनहरी गाउँपालिकास्थित पशुपतिनाथ माविकी प्रधानाध्यापक सपना लामा बहसकर्ताको रुपमा सहभागी हुनुहुन्थ्यो । बहसपछि सेवानिवृत्त शिक्षक भोगेन्द्र लुइटेलले समीक्षा गर्नुभएको थियो ।

वार्षिकोत्सवको अवसरमा आयोजित बहसमा सहभागी वक्ताहरु ।

कार्यक्रममा सामुदायिक र संस्थागत विद्यालयका अभिभावकहरुको सहभागिता रहेको थियो । वार्षिकोत्सवको अवसरमा समृद्ध समाज राष्ट्रिय दैनिकले आमन्त्रित अतिथिलाई मायाको चिनोको रुपमा पुस्तक वितरण गरेको थियो । पुस्तकको प्रयोजन हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलले गरेको हो । यस्तै कार्यक्रममा सहभागी अभिभावकलाई हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले प्रायोजन गरेको गिजुभाइको ‘हामी आमाबाबु’ शीर्षकको पुस्तक वितरण गरिएको थियो ।

वार्षिकोत्सवको अवसरमा पुस्तक वितरण गर्नुहुँदै सम्पादक सुरेश श्रेष्ठ ।

वार्षिकोत्सवको अवसरमा समृद्ध समाज दैनिकले वर्ष उत्कृष्ट कर्मचारीको रुपमा पेज डिजाइनर सोमकुमार श्रेष्ठलाई सम्मान गरेको छ । स्थानीय सरकार, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखेर समृद्ध समाज दैनिकले प्रकाशन गर्दै आएको समाचार र विचार प्रशंसनीय भएको सहभागीहरुको प्रतिक्रिया रहेको थियो । पठन संस्कृतिको विकासका लागि पुस्तक वितरण तथा बहसका कार्यक्रम पनि सराहनीय भएको सहभागीको भनाइ थियो ।

वर्ष उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित हुनुहुँदै सोमकुमार श्रेष्ठ ।