Home खेलकुद पिप्ले युवा क्लबलाई २ लाख सहयोग

पिप्ले युवा क्लबलाई २ लाख सहयोग

सी डिभिजन छनोट खेल्ने तयारीमा रहेको पिप्ले युवा क्लबको टिम ।

हेटौँडा : सहिद स्मारक ‘सी’ डिभिजन छनोट खेल्ने तयारीमा रहेको हेटौँडाको पिप्ले युवा क्लबलाई २ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा काठमाडौंमा हुन लागेको छनोट प्रतियोगितामा सहभागिताका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ ले पिप्ले युवा क्लबलाई २ लाख रुपैयाँ सहयोग गर्ने जनाएको हो ।

क्लबलाई सहयोग आउने क्रम जारी रहेको पिप्ले युवा क्लबका अध्यक्ष सुविन घिमिरेले जानकारी दिनुभयो । यसअघि भीमफेदी गाउँपालिकाले २ लाख र केही दिनअघि हेटौंडा उपमहानगरपालिका–२ निवासी विक्रम शाही खड्की र हेटौंडा–५ निवासी सकुल श्रेष्ठले ५० हजार सहयोग गर्नुभएको थियो । त्यसअघि काठमाडौंको दियालो फोर्स सेक्युरिटीका सञ्चालक हेटौंडा–५ निवासी प्रकाश पुरी र हेटौंडा–१० निवासी प्रदीप कँडेलले दुई लाख रुपैयाँ सहयोग गर्नुभएको थियो ।

प्रतियोगिता आगामी मंसिर ४ गतेदेखि सुरु हुँदैछ । प्रतियोगितामा पिप्ले युवा क्लबसहित देशभरका ३९ वटाको टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेता र उपविजेता टोलीले ‘सी’ डिभिजनमा प्रवेश गर्नेछ ।

Exit mobile version