हेटौँडा : दोलखा जिल्लाको शैलुङ गाउँपालिका–६ शैलुङ फेदीस्थित कालापानी नजिक इभि माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । शुक्रबार दिउँसो ४ बजेर २० मिनेटको समयमा बागमती प्रदेश ०१–००२ ज ६२०८ नम्बरको माइक्रो ब्रेक फेल भएर गौतम बुद्धको शालिकमा ठोक्किँदा दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा गोरखा जिल्ला घर भई हाल काठमाडौँको नागार्जुन–१ बस्ने ६० वर्षीया एकुमाया अर्याल गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि शैलुङ अस्पताल लगिएको साँझ ५ बजेर ५५ मिनेटको समयमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालकसहित १८ जना घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूलाई खाँडिचौरस्थित सिन्धु सदाबहार अस्पताल हुँदै काभ्रेस्थित धुलिखेल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ । इभिमा सवार उनिहरु काठमाडौँको मच्छेगाउँबाट शैलुङ घुम्न आएर फर्किने क्रममा दुर्घटना भएको हो ।