‘सुनौलो बिहानी समूह’ पुनर्गठनपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा : हेटौँडा–५, भैरवरोडस्थित ज्ञानदीप शिक्षा (जीएस) निकेतन माविको बालसाहित्य समिति ‘सुनौलो बिहानी समूह’ पुनर्गठन गरिएको छ । पुनर्गठित ५१ सदस्यीय समितिमा कक्षा–९ की छात्रा राशिका खनाल अध्यक्ष, कक्षा–९ की छात्रा स्मृति सापकोटा र कक्षा–८ का छात्र प्रबिद दङ्गाल उपाध्यक्ष, कक्षा–८ की छात्रा परिधि सापकोटा सचिव, कक्षा–८ का छात्र आयुशिष घिमिरे सहसचिव, कक्षा–७ की छात्रा रुबस पराजुली कोषाध्यक्ष र कक्षा–६ का छात्र भियान चौलागाईँ सहकोषाध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको छ ।

कक्षा ६–९ का साहित्यमा रुचि राख्ने अन्य विद्यार्थीहरू सदस्य रहने गरी ५१ सदस्यीय कार्यसमिति पुनर्गठन गरिएको विद्यालयका सहायक प्रधानाध्यापक तथा सूचना अधिकारी दीपक गौतमले जानकारी दिनुभयो । समूहले स्थापनाकालदेखि बालबालिकालाई साहित्यका विविध विधामा सिर्जनात्मक लेखन, पत्रिका प्रकाशन, पुरस्कार÷सम्मानसम्बन्धी गतिविधि गर्दै आएकोमा आगामी दिनमा पठन संस्कृति प्रवर्धनलाई केन्द्रमा राखी कार्यक्रम गर्ने योजना रहेको नवनिर्वाचित अध्यक्ष खनालले जानकारी गराउनुभयो । समूह बालसाहित्य प्रवर्धनको क्षेत्रमा क्रियाशील संस्था नवसर्जक साहित्य चौतारी नेपालको इकाइ समितिको रूपमा रहने जानकारीसमेत खनालले बताउनुभएको छ ।