हेटौंडा : आम जनता पार्टीका अध्यक्ष प्रभु साहले जेनजीको सपना पूरा नगर्ने भए प्रधानमन्त्रीलाई कुर्सी छाड्न चुनौती दिनुभएको छ । शुक्रबार हेटौंडामा आयोजित कार्यकर्ताहरुको विशेष भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै साहले प्रधानमन्त्री सुशीला कार्की आन्दोलनको बलले प्रधानमन्त्री बनेको भन्दै जेनजी आन्दोलनलाई बिर्सेर पुराना पार्टीका नेताहरुलाई साथ दिन प्रधानमन्त्री र गृहमन्त्री पुच्छर समाएर लागेको आरोप लगाउनुभयो ।
सरकारले आन्दोलनमा आगजनी तथा तोडफोड गरेको आरोपमा पक्राउ गर्न सुरु गरेकोमा उहाँले आपत्ती जनाउँदै भन्नुभयो– ‘आन्दोलनमा मान्छे मार्नेलाई पक्राउ गर्नुपर्नेमा आगजनी गर्ने जेनजी पक्राउ गरेर सरकारले आन्दोलनका सहभागीहरुलाई अपराधी करार गर्ने कोशिस गरिरहेको छ । मान्छे मार्ने अपराध ठूलो कि आगजनी र तोडफोड गर्ने अपराध ठूलो हो ?’ सामाजिक सञ्जाल बन्दको बिरोधमा मात्रै सडकमा आएको भए पनि तत्कालीन सरकारको गल्तीले नै सबै घटना हुन गएको साहले जिकिर गर्नुभयो ।
छिमेकी देशहरुमा करको मात्रा पनि कम भएकाले सबै कुरामा लागत कम हुने र मूल्य पनि कम हुने भएपनि नेपाल सरकारको करको मात्रा अत्याधिक भएको उल्लेख गर्दै अबको राज्य प्रणालीमा करको मात्रा पनि घटाएर जनतालाई आर्थिक सहुलियत दिनुपर्नेमा जोड दिनुभएको छ । आम जनता पार्टीका अध्यक्ष साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जीवनकाजी माकजु श्रेष्ठ, आजपा संगठन विभाग प्रमुख त्रिभुवन साहलगायत पार्टीका विभिन्न व्यक्तित्वहरुको उपस्थिति थियो ।











