हेटौंडा : साहित्य संगम मकवानपुरको आयोजनामा तेस्रो खुला पर्या राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ । साहित्य संगम मकवानपुरले सोमबार एक सूचना जारी गर्दै सम्पूर्ण कविहरूलाई प्रतियोगितामा सहभागिताका लागि आह्वान गरेको छ ।
प्रतियोगितामा जुनसुकै उमेरका कविहरूले भाग लिन पाउनेछन् । प्रतियोगितामा सहभागी हुनका लागि केही नियमहरू तोकिएका छन् । कविता बढीमा २ सय शब्दको हुनुपर्नेछ र यसअघि कुनै पनि सञ्चार माध्यम वा सामाजिक सञ्जालमा प्रकाशित वा प्रसारित नभएको हुनुपर्नेछ । प्रतियोगीहरूले आफ्ना कविता नेपाली भाषामा प्रीति फन्टमा टाइप गरी साहित्य संगम मकवानपुरको इमेलमा मंसिर २४ गते बेलुका ५ बजेसम्म पठाइसक्नुपर्नेछ ।
प्राप्त कविताहरूमध्ये १० उत्कृष्ट कविताहरू छनोट गरिनेछ र पुस २ गते सोको सूचना प्रकाशन गरिनेछ । छनोट भएका १० उत्कृष्ट कविताहरूलाई अन्तिम प्रतियोगितामा सहभागी गराइनेछ । अन्तिम प्रतियोगिता पुस १२ गते हुनेछ । छनोट भएका कविताका कवि स्वयम् उपस्थित भई आ–आफ्नो कविता वाचन गर्नुपर्नेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार रुपैयाँ, द्वितीय हुनेलाई २० हजार रुपैयाँ र तृतीय हुनेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । साथै, प्रोत्साहन स्वरूप दुईजना कविहरूलाई ५÷५ हजार रुपैयाँ प्रदान गरिने संगमले जारी गरेको सूचनामा उल्लेख छ ।











