दौड प्रतियोगितामा विजयी खेलाडीलाई पुरस्कृत गरेपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा : पूर्वी मकवानपुरको बकैया गाउँपालिका–४ मा भएको खुल्ला दौड प्रतियोगितामा लुम्बिनी प्रदेशका अजय पाण्डे क्षेत्री प्रथम भएका छन् । शनिबार बकैया एथलेटिक संघको तेस्रो स्थापना दिवसको अवसरमा भएको प्रतियोगितामा अजय प्रथम भएको महेन्द्र माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक उद्धव सापकोटाले जानकारी दिनुभयो ।

प्रतियोगितामा जुरेलीदेखि लालिगुराँस प्राथमिक विद्यालयसम्म ५ किलोमिटरको दुरी पार गर्नुपर्ने थियो । अजयले १७ मिनेटमा निर्धारित दुरी पार गर्दै प्रथम भएका थिए भने बकैयाका राजकुमार गोले १७ मिनेट ४६ सेकेण्डमा दुरी पार गर्दै द्वितीय भए । थाहा नगरका विजन सुनार १८ मिनेट ४० सेकेण्डमा दुरी पार गदै तृतीय र बकैयाकै सुमन योञ्जन २० मिनेट ३० सेकेण्डमा दुरी पार गर्दै सान्त्वना भएको सहायक प्रधानाध्यापक सापकोटाले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ५ हजार, ३ हजार, २ हजार र एक हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्य रहेको थियो भने उपाध्यक्ष भक्त बहादुर खत्रीको विशेष आतिथ्य रहेको थियो । प्रतियोगितामा मुख्य निर्णायकको भूमिकामा जिल्ला एथलेटिक्क संघका अध्यक्ष प्रभाकर पाण्डेको रहनुभएको थियो ।