अबैध गाँजा खेती फडानी गरिँदैको तस्वीर ।

हेटौँडा : मकवानपुर प्रहरीले सोमबार देखी बिहीबारसम्म ३० बिगाहा १० कठ्ठा क्षेत्रफलमा लगाइएका गाँजाका बोट तथा बेर्ना फडानी गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण हेटौडा मकवानपुरबाट संयुक्त रूपमा खटिएको १०२ जनाको प्रहरी टोलीले जिल्लाको उत्तरी भेगमा अबैध रूपमा खेती गरिएको गाँजा फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरी टोलीले राक्सीराङ गाउँपालिका अन्तर्गतका चिसापानी, बेल्टार, टेम्टा, गोरेटार, देबुटार, कैलाश गाउँपालिका अन्तर्गतका सातकन्या, खैरेनी, जोइटी, तथा भिमफेदी गाउँपालिका अन्तर्गतका भदौरे र ज्यार्बु लगायतका विभिन्न वडामा गरी करिब ३० बिगाहा १० कठ्ठा क्षेत्रफलमा लगाइएका गाँजाका बोट तथा बेर्ना फडानी गरी नष्ट गरेका छ । प्रहरीका अनुसार अबैध गाँजा खेती नियन्त्रण अभियानमा स्थानीय तह, सामुदायिक प्रतिनिधि र सम्बन्धित निकायहरूको पनि सहयोग रहेको थियो ।