रास्वपाको विस्तारित बैठकलाई सम्बोधन गर्नुहुँदै उपसभापति स्वर्णिम वाग्ले ।

हेटौँडा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनलाई आफ्नो ‘अर्जुनदृष्टि’ बनाउँदै स्पष्ट बहुमतको सरकार निर्माण गर्ने लक्ष्यका साथ अघि बढ्ने राजनीतिक कार्यदिशा तय गरेको छ ।
शुक्रबारदेखि चितवनमा सुरु भएको केन्द्रीय समितिको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै कार्यवाहक सभापति डीपी अर्यालले चुनाव केन्द्रित रणनीति र त्यसका लागि वैकल्पिक शक्तिहरूबीच एकता, सहकार्य र मोर्चाबन्दीको नीति अख्तियार गर्नुभएको हो ।

प्रतिवेदनमा आगामी चुनावलाई देशको रुपान्तरणका लागि निर्णायक अवसरको रूपमा चित्रण गरिएको छ । ‘रास्वपाको तत्कालीन अर्जुनदृष्टि आगामी चुनाव केन्द्रित हुनुपर्छ र पार्टीले आफ्ना नीति, कार्यक्रम र संगठनात्मक गतिविधि यसैतर्फ निर्देशित गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ । पार्टीले स्पष्ट बहुमतको सरकारले मात्र देशमा लामो समयदेखिको राजनीतिक अस्थिरताको अन्त्य गर्न, नीतिगत स्थिरता प्रदान गर्न र भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न सक्ने ठहर गरेको छ ।

रास्वपाले पुराना राजनीतिक दलहरूको शासकीय असफलताका कारण देशले निकास पाउन नसकेको निष्कर्ष निकाल्दै एक सशक्त र विश्वसनीय वैकल्पिक राजनीतिक शक्ति निर्माणमा जोड दिएको छ । यसका लागि विचार मिल्ने नयाँ दल, समूह र स्वतन्त्र व्यक्तिहरूलाई एक ठाउँमा आउन आह्वान गरिएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘सानातिना स्वार्थ र अहंलाई त्यागेर वृहत् सहकार्यको भावनाका साथ अघि बढे मात्र जनताले एउटा भरपर्दो विकल्प पाउने छन् ।’

एकता, मोर्चाबन्दी र सहकार्यको बलमा रास्वपाले आफूलाई वैकल्पिक राजनीतिको केन्द्र बनाउन सकिने विश्वास लिएको छ । प्रतिवेदनअनुसार, ’जनविश्वासको मात्रा, संसदीय अनुभव, प्रभावकारी एजेण्डा, गतिशील र स्वीकार्य नेतृत्व एवं सांगठनिक आधारका दृष्टिले रास्वपालाई नै वैकल्पिक राजनीतिक दल, शक्ति, समूह र व्यक्तिहरुको केन्द्र बनाउन सकिन्छ ।’

रास्वपाको विस्तारित बैठकमा कार्यवाहक सभापति अर्याल भनेः ‘हामी दौडिनुअघि नै खुट्टा तान्ने प्रवृत्तिमा छौं’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले पार्टीभित्र आत्मकेन्द्रित र अरुको खुट्टा तान्ने प्रवृत्ति हावी हुन थालेको प्रती चिन्ता व्यक्त गर्नुभएको छ । पार्टीका गतिविधि र नेता कार्यकर्ताका कार्यशैली माथी पार्टीका सदस्यहरुले आत्मसमीक्षा गर्न उहाँले आग्रह गर्नुभयो ।

चितवनको पर्यटकीय नगरी सौराहामा आजबाट सुरु भएको पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले विगत ४० महिनाको छोटो अवधिमा पार्टीले महत्वपूर्ण उपलब्धिलाई हासिल गरेको बताउनुभयो । उहाँले बामे सर्न लागेको बालक दौडिन नसक्ने उदाहरण दिँदै समयभन्दा अगाडि अप्राकृतिक अपेक्षा राख्दा पार्टीलाई नै कमजोर बनाउने तर्क गर्नुभयो । कार्यवाहक सभापति अर्यालले पार्टीमा ‘टिम’को भावनाको कमी भएको महसुस भएको बताउनुभयो ।

‘हामी भर्खरै पार्टी बन्ने प्रक्रियाको शुरुआती चरणमा छौं, सिक्दै र हुर्कंदैछौं । तर हामीमध्ये कतिपयलाई दौडिन हतार भइसकेको छ ।’ उहाँले भन्नुभयो, ’टिम नबन्दासम्म हामीलाई टिम चाहिन्छ, तर टिम बनेपछि हामी एक्लै गर्न सक्छौं भन्ने लाग्छ । यो प्रवृत्तिले हामीलाई निकै गाँज्दै लगेको जस्तो लाग्छ ।’

उहाँले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अरुलाई दोष दिनुभन्दा पहिले आफ्नो जिम्मेवारी बोध गर्न आग्रह गर्नुभयो । पुराना पार्टीहरुको औचित्यमाथि प्रश्न उठिरहेको बेला रास्वपा पनि ’तिललाई पहाड’ बनाएर आन्तरिक कलहमै अल्झिने खतरा रहेको उहाँले औंल्याउनुभयो ।

‘यो पार्टी ठूलो र राम्रो हुँदा जस लिने पनि हामी हौं, खुम्चिँदा अपजस लिनुपर्ने पनि हामीले नै हो । तर, बैठकमा उपस्थित कतिपय सदस्यहरु आफूलाई नभई अरुलाई प्रश्न गर्ने, खिसीटिउरी गर्ने वा बदनाम गर्ने नियतले उपस्थित भएको हो ?’ उहाँले भन्नुभयोे, ‘रास्वपालाई कमजोर बनाएर तपाईं–हामी कहिल्यै बलियो हुन सक्दैनौं । मजेरी खनेर आँगन पुर्ने काम हामीले गर्नुहुँदैन ।’ उहाँले भन्नुभयो ।

आगामी चुनावमा पार्टीले जित्नैपर्ने दबाब रहेको बताउँदै अर्यालले त्यसका लागि सबै एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीले जित्ने उम्मेदवार बाहिर खोज्नुभन्दा पनि आफ्नैभित्रबाट तयार गर्न नसक्नुको जिम्मेवारी सबैले लिनुपर्ने बताउनुभयो ।

‘हामीमध्ये धेरैलाई चुनाव जित्न सकिन्छ भन्ने लागेको छ, तर राम्रो उम्मेदवार चाहिन्छ । यसको अर्थ हामी आफैंलाई चुनाव जित्ने किसिमको राम्रो लागेको छैन ।’ उहाँले भन्नुभयो ।