हेटौँडाः हेटौंडामा बुधबारबाट सुरु भएको एन्फा प्रेसिडेण्ट लिग फुटबल प्रतियोगतामा चित्लाङ फुटबल क्लब (काठमाडौं) विजयी भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा बुधबारबाट हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सुरु प्रतियोगितामा चित्लाङ फुटबल क्लब (काठमाडौं) ले देउराली युथ क्लब (देउराली)लाई पराजित गर्दै विजयी यात्रा सुरु गरेको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा चित्लाङले ४–१ गोलअन्तरले देउरालीलाई हराएको हो । चित्लाङका लागि चन्दन कुमार दासले ३२ औं, लाहान सुब्बाले ४७ औं, विज्ञान खड्काले ४८ औं र मदन स्याङ्तानले ८८ औं मिनेटमा गोल गरे । देउरालीका लागि रामचन्द्र वाजीले दोस्रो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा एक गोल फर्काए । प्लेयर अफ द म्याच चित्लाङका जय गुरुङ घोषित भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै दोस्रो खेलमा विजय स्पोट्र्स क्लब (कैलाली) र लालीगुराँस एसोसिएसन क्लब (कास्की) ले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । प्लेयर अफ दि म्याच लालीगुराँसका सुरज जंग ठकुरी घोषित भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिता लिग कम नकआउट आधारमा सञ्चालन भइरहेको छ । प्रतियोगिता आगामी मंसिर २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।











