हेटौँडाः नेपाल सरकारले आज बिहीबार र भोलि शुक्रबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदैछ । हेटौँडामा साढे १२ हजार बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाइने भएको छ । हेटौँडाका १९ वटा वडाका ९२ खोप केन्द्रहरुमा भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाइनेछ ।
जन्मेको ६ महिनादेखि ५ वर्षसम्मका १२ हजार ६ सय बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाउन लागेको हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य शाखाले जनाएको छ । सबै वडाका ९२ वटा खोप केन्द्रमा ९२ जना स्वास्थ्य स्वयंसेविकाहरु सहभागी हुनेछन् । दुवै दिन बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइनेछ । भिटामिन ‘ए’ र जुकाको औषधी वितरणसँगै खुवाइएको बालबालिकाको पाखुराको नाप लिने, पूर्ण स्तनपान लगायत २ वर्षसम्मका बालबालिकाका आमालाई स्तनपान परामर्श दिने, बालबालिकाको पोषण अवस्था थाहा पाउने एवम् मासिक वृद्धि अनुगमन सम्बन्धी परामर्श सेवा पनि उपलब्ध हुने हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद तिवारीले जानकारी दिनुभएको छ । बालबालिकाको दृष्टि क्षमता वृद्धि तथा रोग प्रतिरोध क्षमता विकासका लागि भिटामिन ए अत्यावश्यक भएको निश्कर्षसहित २०५३ सालदेखि प्रत्येक वर्ष बैशाख र कात्तिकमा गरी दुइपटक भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने गरिएको छ ।











