हेटौंडाः कोरोना भाइरसको आशंकामा परीक्षणका लागि हेटौंडास्थित प्रयोगशालामा पठाइएका मकवानपुरका पाँच सय भन्दा बढी व्यक्तिको स्वाबको रिपोर्ट आउन बाँकी छ । साउन २९ गतेदेखि हेटौंडास्थित आइसोलेसन वार्डका साथै जिल्लाका विभिन्न पालिकाहरुले प्रयोगशालामा पठाएका स्वाब नमूनाको रिपोर्ट आउन बाँकी छ ।
हेटौंडास्थित आइसोलेसन वार्डबाट आज ९२ जनाको स्वाबको नमूना प्रयोगशाला पठाइएको आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो । यस्तै मकवानपुरको मनहरी गाउँपालिकाबाट आज ३६ वटा स्वाब नमूना हेटौंडास्थित प्रयोगशालामा पठाइएको छ । हेटौंडास्थित आइसोलेसन वार्डबाट पठाइएको स्वाबको नमूना मध्ये ९ वटा नमूना कोरोना सङ्क्रमितको हो भने ८१ वटा नमूना नयाँ व्यक्तिको हो । हेटौंडास्थित आइसोलेसन वार्डले साउन २९ गते ७५ जनाको, ३० गते १०७ जनाको, ३१ गते १३५ जनाको स्वाब परीक्षणका लागि प्रयोगशाला पठाएको छ । हेटौंडास्थित आइसोलेसन वार्डले २९ गतेदेखि पठाएको स्वाब नमूनाको परीक्षण हुन बाँकी छ । यस्तै बकैया गाउँपालिकाले शुक्रबार ७३ जनाको स्वाब नमूना परीक्षणका लागि पठाएको छ ।
हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशालामा हिजो साँझसम्म १ हजार १ सय ४ नमूना परीक्षण हुने क्रममा रहेको छ । हेटौंडास्थित कोरोना प्रयोगशालामा बारा, पर्सा, रौतहट, सिन्धुली, नुवाकोट जिल्लाबाट पनि कोरोना परीक्षण गर्न स्वाबको नमूना ल्याइने गरेको छ । प्रयोगशालाले दैनिक १ सय २१ वटासम्म स्वाब परीक्षण गर्दै आएको छ ।