हेटौंडाः मकवानपुर जिल्लाको दुर्गमक्षेत्र कैलाश गाउँपालिकाले भोलि आइतबारदेखि भदौ १२ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । कैलाश गाउँपालिकामा पनि कोरोना सङ्क्रमित पहिचान भएसँगै गाउँपालिकामा शनिबार विपद् व्यवस्थापन समितिको बैठकले १२ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।
यस्तै पालिकाले वडा नम्बर ४ सिल गर्ने निर्णय गरेको छ । विपद् व्यवस्थापन समितिले गाउँपालिका र वडाबाट प्राप्त हुने अतिआवश्यक सेवा बाहेक सबै सेवाहरु बन्द रहने र कैलाश गाउँपालिकाको वडा नम्बर ४ सिल गरिएको जनाएको छ । गाउँपालिका भित्र हुने सभा, सम्मेलन तथा धार्मिकस्थलमा हुने जमघटमा रोक लगाईएको कैलाश गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङले जानकारी दिनुभयो । कैलाश गाउँपालिकामा नौं जना पुरुष क्वारेन्टिनमा छन् भने एक महिला आइसोलेसनमा रहेको उपाध्यक्ष सुकुमाया थिङले जानकारी दिनुभयो ।