जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले आज विहान जिल्ला सुरक्षा समितिलाई निषेधाज्ञा जारी राख्न सिफारिस गर्ने सम्बन्धमा गरेको निर्णयको सूचना ।

हेटौंडाः जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले साउन २६ गते राती १२ बजेदेखि हेटौंडा उपमहानगरपालिका क्षेत्र र हेटौंडा उपमहानगरपालिकासँग जोडिएको मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रको दायाँ बायाँ पाँचा पाँच सय मिटर क्षेत्रमा लागू गरिएको निषेधाज्ञा आगामी भदौ ९ गतेसम्म जारी राख्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

गत साउन २५ गते जिल्ला सुरक्षा समितिले साउन ३२ गते अर्थात आज राती १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । हेटौंडा उपमहानगरक्षेत्रमा कोरोना भाइरस सङ्क्रमितको संख्या बढ्दो क्रममै रहेकाले सुरक्षाका दृष्टिले निषेधाज्ञा जारी राख्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका प्रमुख दीपकराज नेपालले जानकारी दिनुभएको छ ।