बाटो खन्न प्रयोग गरिएको स्काभेटर शनिबार डिभिजन वन कार्यालय मकवानपुर परिसरमा ल्याइँदै ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा सडक निर्माण गर्ने क्रममा वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत नगराएको भन्दै बाटो बनाउने क्रममा प्रयोग गरिएको मेसिन (स्काभेटर) डिभिजन वन कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । डिभिजन वन कार्यालय मकवानपुरले शनिबार स्काभेटर नियन्त्रणमा लिएर हेटौंडास्थित कार्यालय परिसरमा ल्याएको छ ।

गत जेठ ९ गते नै डिभिजन वन कार्यालयका अधिकारीले नियन्त्रणमा लिन खोजेको स्काभेटर गाउँपालिकाको जिम्मामा छोडिएको डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख इमनाथ पौडेलले जानकारी दिनुभएको छ । वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत नगराई बाटो बनाइएको भन्दै डिभिजन वन कार्यालयले जिल्ला अदालतमा गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, उपभोक्ता समिति र निर्माण कम्पनि विरुद्ध मुद्दा दायर गरेको थियो । केही दिनअघि मात्रै जिल्ला जिल्ला अदालत मकवानपुरले गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, उपभोक्ता समिति र निर्माण कम्पनिसँग धरौटी लिएको छ ।