हेटौँडा : नेपाल आयल निगम थानकोट डिपोका नाममा आएको पेट्रोलियम पदार्थ अवैध रूपमा चोरी गरी बिक्रि गर्दै गरेको अवस्थामा मकवानपुर प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार दिउँसो करिब ४ः३० बजे नेपाल आयल निगम अम्लेखगञ्ज डिपोबाट थानकोट डिपोका लागि गुडेको ना ४ ख ९३७७ नम्बरको ट्यांकर मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित जय शिव शरणम् फ्यूल सेन्टर प्रालिमा अवैध रूपमा पेट्रोल झिक्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
घटनास्थलमा प्रहरी पुग्दा ट्यांकरबाट पेट्रोल झिक्ने कार्य भइरहेको देखिएपछि ट्यांकरका चालकसहित पेट्रोल पम्पमा काम गर्ने तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) पुष्कर बोगटीले जानकारी दिनुभयो । पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको उहाँको भनाई छ । घटनाको विषयमा अनुसन्धान भइरहेकाले पक्राउ परेका व्यक्तिहरुको नाम सार्वजनिक गर्न नसकिएको प्रवक्ता बोगटीले बताउनुभयो ।
उहाँका अनुसार उक्त टयांकर नेपाल आयल निगमको थानकोट डिपोका लागि पेट्रोल लिएर गुडेको थियो तर बीचमै रोकेर अनधिकृत रूपमा पेट्रोल बिक्री गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटना सम्बन्धी थप विवरण संकलन भइरहेको र पेट्रोलियम पदार्थको अनधिकृत कारोबारमा संलग्नहरूलाई कानूनी दायरामा ल्याइने जनाएको छ ।
















