हेटौँडा : उमेर हदका कारण अनिवार्य अवकाश हुनुभएका हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) का प्रधानाध्यापक माधवप्रसाद दाहाललाई बिदाइ गरिएको छ । शुक्रबारदेखि उमेर हदका कारण अनिवार्य अवकाश भएपछि आइतबार विद्यालयले विशेष कार्यक्रम आयोजना गर्दै उहाँलाई बिदाइ गरेको हो ।
दाहालको अनिवार्य अवकाश पश्चात शुक्रबारदेखि निमित्त प्रधानाध्यापकको जिम्मेवारी सूर्यप्रसाद घिमिरेलाई दिइएको छ । २०४८ जेठ ५ गतेदेखि माध्यमिक तहको गणित विषय शिक्षकको रुपमा भुटनदेवी माविमा नियुक्त हुनुभएका दाहाल २०६७ कात्तिक ७ गतेदेखि प्रधानाध्यापक नियुक्त हुनुभएको थियो । उहाँ प्रधानाध्यापक हुनुभएपछि २०७० सालदेखि साधारणतर्फ अँग्रेजी माध्यमसँगै प्राविधिक धारतर्फ पनि पठनपाठन शुरु भएको थियो । उहाँ प्रधानाध्यापक नियुक्त हुनुहुँदा ७ सय हाराहारीको सँख्यामा विद्यार्थी अध्ययनरत रहेकामा हाल कक्षा १२ सम्म साधारण र प्राविधिक धारसमेत गरी २ हजार ४ सय विद्यार्थीहरु अध्ययनरत छन् ।
दाहालको नेतृत्वमा डेढ दशकमा विद्यालयको स्तरोन्नति गर्न सफल हुनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हेटौँडा–२ का वडाध्यक्ष बिष्णुगोपाल महर्जन, विद्यालयका निमित्त प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे, हेटौँडा उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख सिताराम कोइराला, वडा नं ४ शैक्षिक गुणस्तर सुधार समितिका संयोजक श्रीराम दाहाल, विद्यालयका पूर्व प्रधानाध्यापक देवप्रसाद श्रेष्ठ लगायत विद्यालयका शिक्षक कर्मचारी तथा शिक्षाप्रेमीहरुको उपस्थिति रहेको थियो ।
















