गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको प्रभाव धेरैतिर परेको छ । भ्रष्टाचार र बेथितिविरुद्ध देशव्यापी रुपमा भएको जेनजी आन्दोलनमा कार्यालय भवन जलेर ध्वस्त बनेपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा प्रवाह पनि प्रभावित बनेको छ । आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडले हेटौंडास्थित प्रतिष्ठानको केन्द्रीय कार्यालय ध्वस्त बनेको थियो । प्रतिष्ठानको कार्यालय भवन जल्दा स्वास्थ्य सेवा प्रवाहको कामहरुसमेत प्रभावित भएको छ । आगजनीबाट प्रतिष्ठानको केन्द्रीय कार्यालय भवनमा रहेका जिन्सी तथा कागजातहरु खरानी बनेको थियो । जेनजी आन्दोलनका क्रममा प्रतिष्ठानको ४ सवारी साधनसहित प्रशासनिक ब्लकको जिन्सी सामग्रीहरु जल्दा ६ करोड रुपैयाँ बढीको क्षति पुगेको थियो ।
आगजनीबाट प्रतिष्ठानले तयार पारेको टेण्डरलगायतका कागजात जल्दा प्रतिष्ठानको काम ६ महिना पछि धकेलिएको छ । टेण्डरको अन्तिम तयारीमा रहेका एनआइसीयू, २०० शैया विस्तार, मर्चरी चेम्बर, डायलाइसिसलगायतका सेवा विस्तारको काम प्रभावित भएको हो । हेटौंडा अस्पतालबाट सेवा प्रदान गर्ने गरी प्रतिष्ठानले चालु आर्थिक वर्षमा उक्त सेवाका लागि टेण्डर प्रक्रिया थालेको थियो । कागजात जलेका कारण पुनः सुरुवातबाटै प्रक्रिया अघि बढाउनुपर्ने बाध्यता देखिएको छ । एमबीबीएस कक्षा सञ्चालनका लागि हेटौंडा अस्पतालमा २०० शैया थप गर्ने कार्य पनि आगजनीबाट प्रभावित भएको छ । शैया विस्तारका फाइलहरु जल्दा सो कार्य पनि केही समय पछि धकेलिएको हो । आगजनीबाट कार्यालय भवनमा रहेका स्मार्ट बोर्ड, कम्प्युटर, ल्यापटप लगायतका सामग्री नष्ट भएकाले नियमित अध्यापन कार्यमा समेत समस्या भएको छ ।
कार्यालय भवनमा भएको आगजनीले प्रतिष्ठानको प्रशासनिक र स्वास्थ्य सेवा विस्तारको काममा समस्या पुगेको छ । प्रतिष्ठानको सुरुवातदेखिका सबै कागजात र अभिलेख जलेर नष्ट हुनुका साथै धेरै काममा बाधा पुगेको छ । अनलाइन र सफ्टवेयरमा भएका बाहेक भौतिकरुपमा रहेका सबै अभिलेख नष्ट हुँदा प्रतिष्ठानका काम कारबाही प्रभावित हुँदा चिकित्सा शिक्षा आयोगबाट पहिलो पटक अनुमति पाएको एमबीबीएस कार्यक्रम सञ्चालन गर्न समस्या पर्ने भएको छ । प्रतिष्ठानले सञ्चालन गरिरहेको शैक्षिक कार्यक्रमका सबैजसो अभिलेख अनलाइनमा सुरक्षित रहेकाले ती कार्यक्रम सुचारु रहे पनि एमबीबीएस कक्षा सञ्चालनका लागि भने चुनौती बनेको छ । जेनजी आन्दोलनका क्रममा जथाभावी तोडफोड, आगजनी र लुटपाट गरिँदा स्वास्थ्य र शैक्षिक संस्थाको भविष्यसमेत संकटमा परेको छ ।
जेनजी आन्दोलनका क्रममा ७६ जनाको ज्यान जानुका साथै हजारौं युवा घाइते भए । देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारदेखि सर्वोच्च अदालत, संसद भवन, राष्ट्रपति कार्यालय, विभिन्न मन्त्रालय तथा कार्यालय, प्रहरी कार्यालय, पालिका र वडा कार्यालय, नेताका निजी घर र व्यावसायिक प्रतिष्ठान सबैतिर तोडफोड, लुटपाट र आगजनीबाट खरबौँको क्षति भयो । यसको क्षतिपूर्ति गर्न निकै समय लाग्ने निश्चित छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगो लगाउँदा सर्वसाधारणलाई स्वास्थ्य सेवा र मेडिकल शिक्षा प्रदान गर्ने काममा बाधा पुग्नु विडम्बना बनेको छ । कुनै पनि आन्दोलनमा शैक्षिक र स्वास्थ्य संस्थामाथि प्रहार हुनु गलत हो । भविष्यमा हुने आन्दोलनमा यस्ता गतिविधि हुन नदिन सबै पक्ष गम्भिर बन्नु आवश्यक छ ।
















