हेटौँडा : सञ्चारमाध्यमहरुले धैर्यता नराखी हतारमा समाचार प्रस्तुत गर्दा पत्रकारिताको विश्वसनियतामा कमी आएको सरोकारवालाहरुले बताएका छन् । शुक्रबार जनपत्र मिडिया प्रालिको आयोजनामा वर्तमान अवस्थामा पत्रकारका समस्या, चुनौती र सामाजिक सञ्जालमा भ्रामक सूचनालाई चिर्दै सत्यतथ्य समाचार लेखन विषयक कार्यक्रममा बोल्दै सरोकारवाला सञ्चारकर्मीहरुले यस्तो जानकारी दिनुभएको हो ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशसभाका प्रवक्ता मनोजकुमार गुप्ताले सञ्चारकर्मीहरु हतारमा लाग्दा लुकेका सत्यतथ्य बाहिर ल्याउनमा चुक्दै गएको टिप्पणी गर्नुभयो । उहाँले बागमती प्रदेशसभाको वर्तमान अवस्थाबारे विश्लेषण गर्दै सञ्चारकर्मीहरुले भएका र गर्न नसकेका सबै पक्षका समाचारबारे खोजी गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
वरिष्ठ पत्रकार प्रताप बिष्टले सञ्चार कर्म हतारभन्दा पनि सत्यतथ्य खोजीमा आधारित हुनुपर्ने बाउनुभयो । उहाँले पत्रकारिता क्षेत्रलाई व्यावसायिक र संगठनात्मक तवरले अघि बढाउँदा पत्रकारिताको सत्यता, सन्तुलन, विश्वसनियता कायम राख्न सकिनेमा जोड दिनुभयो । मोफसलमा एक व्यक्ति एक मिडिया सञ्चालन भइरहेको अवस्थामा अस्वस्थ प्रतिस्पर्धा भइरहेको भन्दै यसबारे सञ्चारकर्मीहरु सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सहभागीहरुले सञ्चारकर्मीहरुमा नैतिकताको कमी हुँदै गएकोबारे चिन्ता बढेको भन्दै पत्रकारिताको मूल मर्म सत्यतथ्यमा अडिग रहनुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति अध्यक्ष कृष्ण सारु मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पत्रकार महासंघका मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, सञ्चारकर्मीहरु रामकुमार एलन, सुरेश श्रेष्ठलगायतले आफ्ना विचारहरु व्यक्त गर्नुभएको थियो ।










