हेटौँडा अस्पताल अगाडि प्लेकार्डसहित प्रदर्शन गर्दै नर्सहरु ।


हेटौंडाः मकवानपुरका स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सहरु आन्दोलित भएका छन् । समान काम समान ज्यालाको माग गर्दै उनीहरुले बुधबारदेखि २ घण्टा अत्यावश्यक बाहेकका नर्सिङ सेवा बन्द गरेका हुन् । नेपाल नर्सिङ संघको राष्ट्रव्यापी आन्दोलनको आह्वानअनुसार नर्सहरुले आफ्ना मागहरू पूरा गराउन दबाव दिँदै बिहान १० बजेदेखि १२ बजेसम्म काम रोकेर बिरोध प्रदर्शन गरेका हुन् । संघको पूर्वनिर्धारित कार्यक्रमअनुसार यो आन्दोलनको दोस्रो चरण हो ।

यसअघि गत कात्तिक ४ गतेदेखि ११ गतेसम्म मकवानपुरका नर्सहरुले हेटौँडा अस्पताललगायत जिल्लाका सबै स्वास्थ्य संस्थामा हातमा कालोपट्टी बाँधेर सेवा प्रदान गरेका थिए । माग सुनुवाई नभएपछि आन्दोलनलाई थप सशक्त बनाइएको नेपाल नर्सिङ संघ मकवानपुरकी अध्यक्ष गंगा दाहालले बताउनुभयो । दाहालका अनुसार कात्तिक १८ गतेसम्म हरेक दिन बिहान २ घण्टा सेवा बन्द गरिनेछ । नर्सहरुको आन्दोलन मुख्यतया निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको श्रम शोषणविरुद्ध केन्द्रित रहेको उहाँले बताउनुभयो । निजी अस्पताल तथा शिक्षण संस्थाहरुमा कार्यरत नर्सहरुको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारीसरह हुनुपर्ने माग रहेको उहाँको भनाइ छ ।

सरकारले नर्सहरुको न्यूनतम तलब पाँचौं तहअनुसार ३४ हजार ७३० रुपैयाँ तोकेको भए तापनि धेरै निजी संस्थाहरुले अत्यन्तै न्यून पारिश्रमिकमा काम लगाइरहेको उहाँले गुनासो गर्नुभयो । १८ गतेसम्म पनि माग सुनुवाई नभए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यदलको प्रतिवेदनअनुसार आन्दोलनका कार्यक्रम थप गर्ने पनि अध्यक्ष दाहालले बताउनुभयो । गत कात्तिक २ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल नर्सिङ संघले पेश गरेको माग पूरा गर्ने सम्बन्धमा कार्यदल बनाएकाले अबको एक हप्ता कार्यदलको प्रतिवेदन कुरेको अध्यक्ष दाहालले स्पष्ट पार्नुभयो । नेपाल नर्सिङ संघले गत कात्तिक २ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विभिन्न मागहरु राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

दक्ष नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐनअन्तर्गत व्यवस्थापन गरिनुपर्ने, रात्रिकालीन वा सार्वजनिक वा चाडपर्व बिदाको दिनमा काम गरेबापत सरकारी, निजी तथा शिक्षण अस्पतालमा अतिरिक्त तथा जोखिम भत्ताको व्यवस्था गरिनुपर्ने, योग्यता र अनुभवको आधारमा स्तरवृद्धि तथा बढुवाको व्यवस्था हुनुपर्ने, ग्रेडको व्यवस्था हुनुपर्ने, औद्योगिक नर्सको व्यवस्था हुनुपर्नेलगायत १५ बुँदे मागसहित आन्दोलनको कार्यक्रम सुरु भएको थियो ।