हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विपन्न दलित एवम् एकल महिलालाई घर हस्तान्तरण गर्नुभएको छ । उहाँले मुख्यमन्त्री नियुक्त भए लगत्तै गरेको पहिलो निर्णय अनुसार मनहरी–९ की मिठुमाया सुनारको घर निर्माण गरेर हस्तान्तरण गर्नुभएको हो ।
सरकारी दर रेट अनुसार ७ लाख ५० हजार रुपैयाँ पर्ने उक्त घर मुख्यमन्त्री बानियाँले ४ लाख ६५ हजार रुपैयाँमा निर्माण गरेर हस्तान्तरण गर्नुभएको हो । भुकम्प प्रतिरोधी उक्त घर निर्माणका लागि मुख्यमन्त्री बानियाँले आफ्नो सेवा स्ुविधाबाट प्राप्त हुने पारिश्रमिक र निजी खर्चबाट व्यहोरिएको छ । आसिसी पिल्लर सिस्टमको उक्त घरमा ३ कोठा, शौचालय, बत्ति, पानी लगायतको सुविधा रहेको छ ।
आफ्नो व्यक्तिगत तथा राज्यबाट प्राप्त हुने सुविधाको रकमबाट घर निर्माण गरी हस्तान्तरण गर्दै उहाँले मानवताको सेवा नै आफ्नो राजनीतिको मूल मर्म भएको बताउनुभयो । मुख्यमन्त्री बानियाँले राजनीतिमा आफू बीपी कोइरालाको दर्शनबाट प्रेरित भएको र गरिबको न्याय र आय सुनिश्चित गर्नु नै आफ्नो लक्ष्य रहेको बताउनुभयो ।
‘हामीले राजनीति गरेको मानवताको लागि हो, मान्छेको सेवा गर्नको लागि हो,’ उहाँले भन्नुभयो, ‘बीपीले भन्नुभए अनुसार गरिबलाई न्याय, गरिबलाई आयको सिद्धान्तमा हामी अघि बढिरहेका छौं । गरिबमुखी, गाउँमुखी, विकासमुखी र जनमुखी काम गर्न हामी प्रतिबद्ध छौँ ।’
मुख्यमन्त्री बानियाँले आफ्नो व्यक्तिगत लगानी र मुख्यमन्त्रीको सुविधाबाट मकवानपुरको राक्सिराङ र कैलाशमा थप २ वटा घर निर्माण गरी विपन्न परिवारलाई हस्तान्तरण गर्ने गरी काम गरिरहेका छन् । हस्तान्तरण गरिएको घर सरकारी अनुमान अनुसार करिब ७ लाख लागतको भए पनि स्थानीयको सहयोग र विभिन्न सामग्रीमा सहुलियत पाएकाले ४ लाख ६५ हजारमा निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो । सोही अवसरमा मुख्यमन्त्री बानियाँले बाख्रा पालन गरी जीविकोपार्जन गर्न मिठुमायालाई २० हजार रुपैयाँ आर्थिक सहायता समेत प्रदान गर्नुभएको थियो ।
प्रदेशमा एक हजार विपन्नलाई घर र आयआर्जन कार्यक्रम
मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकारले प्रदेशभरिका १,००० विपन्न परिवारका लागि घर निर्माण गर्ने योजना घोषणा गर्नुभएको छ । घरसँगै छानामुनि बस्नेको खाना र नाना (रोजगारी) को पनि व्यवस्था गर्न सरकारले आयआर्जनका कार्यक्रम ल्याउने उहाँको भनाइ छ ।
‘यदि ५ लाखको दरले एउटा घर बनाउने हो भने ५० करोडमा एक हजार घर बन्छ । हामी यो किन नगर्ने ?’ उहाँले भन्नुभयो, ‘घर प्राप्त गर्ने परिवारलाई बाख्रा, कुखुरा, गाईभैँसी पालन वा तरकारी खेती जस्ता आयमूलक व्यवसाय गर्न २ लाख रुपैयाँसम्म किस्ताबन्दीमा उपलब्ध गराउने गरी प्रदेश सरकारले योजना बनाउँछ । यस कार्यक्रमको निगरानी स्थानीय गाउँपालिकामार्फत गरिनेछ ।’











