हेटौँडा : मकवानपुर प्रहरीले प्रतिवन्धित लागूऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो १२ बजेको समयमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले हेटौँडा–७ का २८ वर्षीय संजिवराज थिङ र हेटौँडा–१४ की २२ वर्षीय मनिषा थिङलाई १४ ग्राम ५२० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी बसपार्कबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले संजिव र मनिषालाई डिजिटल तराजु १ थान, बिक्रीको लागि पुरिया बनाई राखिएको खैरोहेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिई हिरासतमा राखेर थप अनुसन्धान तथा कारवाही अगाडि बढाएको जनाएको छ ।











